नेपाल-भारत सीमामा कडाइ हुनुपर्ने सुझाव

|

काठमाडौं : संसारभर कोरोना भाइरसको संक्रमण बढदै गइरहेको छ। विभिन्न मुलुकले लकडाउन खुकुलो पार्ने क्रम पनि जारी छ। कयौ देशमा दैनिकजसो कोरोना संक्रमणको दर बढदै गइरहेको छ। लकडाउन खुकुलो गरेसँगै कोरोनाको संक्रमण दर उच्च हुँदै गएको पनि छ। 

भारतमा लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण बढदै गएको हो। यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २६ हजार १ सय ६७ पुगेको छ।बुधबार मात्र अहिलेसम्मको सबैभन्दा बढी संक्रमित थपिएका छन्। नयाँ ४५ हजार ५ सय ९९ संक्रमित थपिएका हुन्।

लकडाउन खुकुलो भएपछि निश्चित मापदण्ड अपनाउने सर्तसहित धार्मिक स्थल, होटल, सैलुन, रेस्टुरेन्ट खोल्ने अनुमति दिएको थियो।

भारतका विभिन्न राज्यमा निर्बाध रुपमा सार्वजनिक स्थानमा मानिसहरुको चहलपहल बढन थालेको छ। कोरोनाको मुख्य केन्द्र बनेको स्पेनले १७ हजार २ सय ९ जनाको मृत्यु हुँदा लकडाउन खुकुलो गरेको थियो। अर्थतन्त्रमा असर परेको भन्दै उनीहरुले लकडाउन खोलेका थिए। स्पेनका नागरिकले लकडाउनको विरोधमा सडकमा प्रदर्शन गरेका थिए।

स्पेनले कोरोना नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै नयाँ संक्रमित थपिएका थिए। लकडाउन खुकुलो भएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्रमा एक्कासि कोरोना संक्रमण फैलिएको थियो। यतिखेर स्पेनमा ३ लाख १४ हजार ६ सय ३१ पुगेको छ। बुधबार १ हजार ३ सय ५७ थपिएका छन्। सक्रिय संक्रमित ८८ हजार ६ सय ३० जना छन्। २८ हजार ४ सय २६ जनाको मृत्यु भइसकेको छ।

नेपालमा चैत ११ गते सुरु गरेको १ सय २० दिन पश्चात लकडाउनको अन्त्य भएको छ। लकडाउन अन्त्य भएको भोलिपल्ट नेपालमा १ सय संक्रमित थपिएको थियो। सरकारले लकडाउनको अन्त्य घोषणा गर्दा निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ।

सडक र सार्वजनिक स्थानमा मानिसको चहलपहल बढन थालेको छ। कतिपय स्थानमा स्वास्थ्य मापदण्ड नअपनाई मानिस ओहोरदोहोर गर्न थालेका छन्। नेपालमा थोरै संख्यामा संक्रमित हुँदा सरकारले लकडाउनको घोषणा गरेको थियो। पहिलो पटक लकडाउनको घोषणा गर्दा थोरैको संख्यामा संक्रमित थिए।

दैनिकजसो १ सय भन्दा माथि संक्रमितको संख्या बढ्दा सरकारले लकडाउन खोलेको छ। यतिखेर १८ हजार ९४ संक्रमित पुगेको छ। १२ हजार ६ सय ८४ संक्रमणमुक्त भइसकेका छन्।

अहिले १८ हजारभन्दा माथि कोरोना संक्रमित हुँदा सरकारले पूर्ण रुपमा लकडाउन खोल्ने घोषणा गरिसकेको छ। लकडाउनको अन्त्य गर्ने घोषणा गर्दा अझ बढी संक्रमितको संख्या थपिने आशंका बढने भन्दै सर्वसाधारणदेखि विज्ञ चिन्तित छन्।

'समुदायमा व्यापक परीक्षण नगरी लकडाउन खोलियाे'

समुदायको कोरोना परीक्षण नगरी त्यहाँको अवस्था कस्तो छ भनी अध्ययन नगरी लकडाउन खोल्ने निर्णय अपरिपक्व र अव्यवहारिक रहेको जनस्वास्थ्यविद् डा. रवीन्द्र समीर पाण्डे बताउँछन्। व्यापक रुपमा कडाइ निगरानी र सतर्कता नअपनाएमा समुदायमा यसले भयावह अवस्था सिर्जना गर्ने उनले बताए।

'परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्छ। स्वास्थ्य विज्ञसँग पर्याप्त छलफल गर्नुपर्छ,' डा. पाण्डेले भने,' लकडाउन खोलि सकिएको अवस्था छ। सिमामा पनि कडाइ गरिनुपर्छ।'

सरकारले लकडाउन खोलेपछि यसबाट सुरक्षित हुन नागरिकले बढी सचेत हुनुपर्ने अवस्था आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा.शेरबहादुर पुनले बताए। लकडाउन गर्नु पनि लामो समयसम्म राम्रो नभएको पुन बताउँछन्।

उनले भने,' लकडाउनको सुरुवाती अवस्था पनि राम्रो थियो। संक्रमित बढेको थिएनन्। नागरिकले लकडाउनको उल्लंघन गरेका थिए। साँझ बिहान लुकीछिपी बाहिर हिँड्ने गरेका थिए।' सर्वसाधारणले यस रोगबाट सुरक्षित रहन जिम्मेवार हुनुपर्ने अवस्था आएको उनको भनाइ छ।

काठमाडौंमा मात्र नभई दूर दराजको गाउँ सम्ममा समुदायको परीक्षण गरिनुपर्ने उनले बताए। यस अवधिमा समुदायमा धेरै मानिस जाने-आउने गरेकोले जोखिम बढेको हुन सक्ने उनले उल्लेख गरे।

सरकारले पछिल्लो चरणमा काम गरी खाने नागरिकलाई लक्षित गरी लकडाउन खुकुलो गरेको हुन सक्ने उनले बताए। काम गरी खान नसक्ने र अवसर नपाएका जनताप्रति राज्य सधैं उत्तरदायित्त्व भूमिका निभाउनुपर्ने उनले सुझाव दिए।

'लकडाउन खोले पनि कोरोनाको जोखिम घटेको छैन'

सरकारले जनताको सन्त्रास मय वातावरणलाई सामान्यीकरण गर्नलाई लकडाउन खोलेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतम बताउँछन्। उनले भने,' कोरोना संक्रमणको दर बढेको छ। यसको जोखिम घटेको छैन। लकडाउन छिटो खोल्दा अन्तर्राष्ट्रिय अनुभव हेर्दा पनि धेरै क्षति भएको छ। यसको नागरिक बढी सचेत हुनुपर्छ।'

देशभरका मुख्य-मुख्य सहरको बढी भिडभाड हुने ठाउँमा परीक्षणको दायरा बढाउने तयारी गरिरहेको गौतमले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.