|

काठमाडौं : राजधानीको सीतापाइलामा एकजना युवतीमाथि तेजाव हान्‍ने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ।  बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाव हानेर फरार भएका दुवैजनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिएको हो। 

काठमाडौं परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले उनीहरूलाई डल्लुबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्‍ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने फैयाज आलम छन्।  उनीहरू बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए। एसिडबाट घाइते युवती हाल कीर्तिपुर अस्पतालमा उपचाररत रहेकी छन्।

कसरी भयो घटना?

पीडित कार्की बेरोजगार थिइन्। डल्लुमा आलमले गार्मेन्ट फ्याक्ट्री चलाउँथे। कार्कीकी दिदी पनि त्यही फ्याक्ट्रीमा काम गर्थिन्। साहुसँग चिनजान भएपछि दिदीले कार्कीलाई पनि त्यही गार्मेन्ट उद्योगमा रोजगार दिन आग्रह गरिन्। सुरुमा खासै मतलब नगरे पनि  केही समयअघि आलमले पनी ती युवतीलाई जागिर दिए।

लकडाउनले हायलकायल भएको बेला जागिर पाएपछि ती युवती खुशी नहुने कुरै भएन। काम गर्ने क्रममा ती युवतीको शरीरमा गिद्दे नजर सुरु भयो। ४७ वर्षीय आलमले ती युवतीलाई एकतर्फी  प्रेम गर्न सुरु गरिसकेका थिए।

फ्याक्ट्रीमा मालिक आलमले ती युवतीलाई आकर्षित गर्न कुनै कसर बाँकी राखेनन्। उनले क्याफे जाम भन्‍नेदेखि  घुम्‍न जाम भन्ने जस्ता अफर सुरु गरे। तर, ती युवतीलाई कामबाहेक आलमप्रति कुनै लगाव थिएन। 

प्रहरीले दिएको जानकारीअनुसार युवती विवाहको तयारीमा थिइन्। अर्कैसँग विवाह गर्ने कुरा मोहम्मदलाई मन परेको थिएन। परिसर प्रमुख श्यामलाल ज्ञवालीका अनुसार आलमले कार्कीलाई आफ्ना कुरा लाध्‍न खोजेको अनुसन्धानले देखाएको बताएका छन्। 'आफ्नो इच्छा अनुकुलले ती युवतीले नगरेपछि आलमलाई बदलाको भाव सुरु भएको हो', प्रमुख ज्ञवालीले भने।

इख जन्मेपछि युवतीमाथि बदला लिने भन्दै उनले आफ्नै फ्याक्ट्रीमा काम गर्ने भारत घर भई डल्लुमा कालीगढको काम गर्ने फैयाजलाई आफूलाई मद्दत गर्न अनुरोध गरे। आलमले युवतीलाई कसरी बदला लिने भन्ने योजना बनाइरहेका थिए। बिहीबार त्यो योजना पूरा गर्ने भन्दै उनले युवतीलाई फोन गरे। 

पूर्वयोजना मुताविक सहयोगी मुन्नालाई बीच बाटोमा एसिड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीबार मोहम्मदले विभिन्न बहाना बनाई युवतीलाई फोन डायल गरे। पाँच तारे होटलमा काम गरिरहेकी ती युवतीलाई  आलमले बिहीबार कफीको अफर गरेको अनुसन्धानले देखाएको छ। उनले नाइँनास्ती गरे पनि पानी परिरहेको बेला कफी खाँदा नै के फरक पर्छ भन्ने सोचिन्। बेलुका अबेर भएपछि आलमले उनलाई डेरा पुर्‍याइदिने भए। डेरा पुग्नुअगावै उनी दही किन्न भन्दै पसल झरिन्।  

उता, बाटोमा आलमले  फैयाजलाई एउटा बोतलमा एसिड तयार पारेर दिएका थिए। जब ती युवती मुन्नानजिक आइन्। मुन्नाले अनुहारमा एसिड छ्यापेर आलमकै मोटरसाइकलमा हुइँकिए।

हात डढेपछि एसिड भन्ने थाहा पाएँ : मुन्ना

एसिड हानेको केही घण्टामा नै प्रहरीले दुवै जनालाई पक्राउ गर्न सफल भएको छ। आलमले  प्रहरीलाई दिएको बयानअनुसार आफूले मन पराएकी केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्‍वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गर्न लगाएको स्वीकारेका छन्।  

प्रहरीको अनुसन्धानमा फैयाजले भने ती युवतीलाई छ्याप्‍न प्रयोग गरिएको वस्तु एसिड हो भन्ने आफूलाई थाहा नभएको बताएका छन्। 'मलाई त रक्सी भनिएको थियो। जब त्यो बोतलको छिटाले मेरो हात पनि पोल्न थाल्यो। बल्ल मैले एसिड भन्‍ने थाहा पाएँ।' अनुसन्धानका क्रममा फैयाजले भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.