'शरीर कुरूप र अङ्गभङ्ग बनाउने उद्धेश्यले नै एसिड छ्याप्‍छन्'

|

काठमाडौं : वसन्तपुरमा दुई किशोरी माथि ६ वर्ष अगाडि एसिड प्रहार भयो। २०७१ फागुन ११ गते ट्युसन पढ्न गएका दुई युवतीमाथि एसिड आक्रमण भएको थियो। पछि उनीहरू दुवैले अस्पतालको शय्याबाट परीक्षा दिएका थिए।

संगीतालाई उनकै घरमा बसेका जीवन विकले एसिड प्रहार गरेका थिए। संगीताको सुन्दरता बिगार्न प्रहार गरेको एसिड सीमाको शरीरमा समेत परेको थियो। एसिड प्रहार गर्ने जीवनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो।

रौतहटको चन्द्रपुर नगरपालिका-६ का दिदीबहिनी सम्झना र सुस्मिता दासमाथि २०७५ भदौ २७ सुतिरहेको ठाउँमा एसिड प्रहार भयो।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले एसिड हानेका थिए। गम्भीर घाइते भएकी सम्झना दासको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।

प्राप्ति मात्रै प्रेम होइन। प्रेम त दुर-सुदूरमा पुगेका र कहिल्यै नभेटिनेलाई पनि गरिन्छ। जसप्रति आकर्षित होइन्छ : उसैको जीवन र जोवनमा अवरोध गर्नु प्रेम हुँदै होइन।

सोही वर्ष नवलपरासीको कावासोती-९ मा २७ वर्षीया युवतीमाथि एसिड प्रहार भयो। छिमेकी विमल श्रीपालीले एसिड प्रहार गरी ती युवतीलाई घाइते बनाए।

कालोपुलमा २०७६ जेठ १ गते युवती जेनी खड्कालाई आफ्नै श्रीमान् विष्णु भुजेलले एसिड खन्याएका थिए। श्रीमान्श्री-श्रीमती बीचको आपसी विवादका कारण एसिड प्रहार भएको थियो।

काभ्रेस्थित एक मोटर ग्यारेजमा काम गर्दै भुजेल र जेनीबीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए।

२०७६ भदौ २० बिहानै वीरगञ्‍जमा १५ वर्षीय मुस्कान खातुन माथि एसिड प्रहार भयो। एसिड प्रहारले उनको शरीरको एक भाग पूरै जल्यो। मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भयो। उनको अहिले पनि कीर्तिपुर अस्पतालमा नियमित उपचार भइरहेको छ।

बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भयो। मन पराएकी केटीले अर्कै केटालाई मन पराएको भन्दै आशक्त व्यक्तिले  उनको शरीरमा ट्‍वाइलेट–बाथरुम सफा गर्ने एसिड फ्याँके।

एसिड आक्रमण गरी भाग्ने दुवैजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। अनुहार जलेको अवस्थामा फेला परेकी युवतीलाई राति नै कीर्तिपुर अस्पतालमा लगेर उपचार गरिएको छ।

प्रेम नबुझ्नेले प्रेम गर्दा...

प्राप्ति मात्रै प्रेम होइन। प्रेम त दुर-सुदूरमा पुगेका र कहिल्यै नभेटिनेलाई पनि गरिन्छ। जसप्रति आकर्षित होइन्छ : उसैको जीवन र जोवनमा अवरोध गर्नु प्रेम हुँदै होइन। आग्रह र सर्तमा बाँधिएको, 'मेरो नभए अरूको पनि हुन दिन्नँ' भन्ने खालको 'स्मार्ट लभ' अर्थात स्वार्थी प्रेमकै कारण वर्षेनी कैयौं युवायुवतीहरू एसिडको जलन सहँदै जीवन त्याग्न बाध्य छन्‌। एसिडले जलाएको अनुहार छोपेर हिँड्न बाध्य छन्‌।

नेपालमा पछिल्ला केही वर्षयता यही मनोवृत्तिसहित आशक्त बन्नेहरूले प्रेमका नाममा अपराध गरिरहेका छन्‌। यस्ता घटनामा किशोर र युवाहरू भन्दा पनि किशोरी र युवतीहरू पीडित भएका छन्।  एसिड आक्रमणका घटना बढ्दैछ।

एसिड प्रहार गरिएको ६ वटा प्रतिनिधि घटनाले यही प्रमाणित गरेको छ। आफूले प्रस्ताव गरेको 'प्रेम' नस्वीकारेको बदलामा एसिड प्रहार गरेर शारिरिक सुन्दरता नै बिगारिदिने हदसम्ममा प्रतिशोधले काम गर्ने गरेको अनुसन्धानहरूमा उल्लेख छ।

पक्राउपछि प्रहरी बयानमा पनि अभियुक्तले यही कुरा स्वीकार्दै आएका छन्‌। एकतर्फी प्रेम गरेपछि वा प्रेमी/प्रेमिका नपाउने भएपछि उनीहरू बदलाको भावले ग्रस्त हुने र एसिड छ्याप्नेजस्तो तल्लोस्तरको अपराध गर्नसमेत उद्यत्‌ देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन्‌।

अपराधी छुट्दा झन्‌ समस्या

नेपाली समाजमा अहिले पनि महिलाहरूलाई खेलौनाको रुपमा मान्ने र पाइहाल्नु पर्छ भन्ने सोच भएकोले यस्तो आक्रमणको घटना बढ्दै गएको एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुन बताउँछिन्।

नेपालको कानुन कमजोर भएकोले पनि वर्षेनी एसिड आक्रमण बढ्दै गइरहेको खातुनले बताइन्। उनले भनिन्, 'पीडक कानुनको दायरामा आएपनि कालान्तरमा छुट्ने गर्दा यस्तो गतिविधि गर्नेको मनोबल वृद्धि हुने गरेको छ, त्यसैले पीडकलाई कडा कारबाही हुनुपर्छ।'

यस्तो बेलामा पीडितले हिम्मत हार्न नहुने उनले बताइन्। चिने जानेका मानिसले एसिड पीडितलाई माया र सम्मान गर्ने गरेको उनको भनाइ छ। नचिनेका मानिसले देखे भने मुख बङ्ग्याउने र अलिक फरक अनुभुति प्रकट गर्ने गरेको उनको अनुभव रहेको छ।

एसिडको उपचार धेरै महंगो

'नियमित परीक्षणको लागि सातामा दुईपटक स्वास्थ्य परीक्षणको लागि अस्पताल गइरहेको छु,' उनले भनिन, 'एसिड आक्रमणबाट चोटपटक भएको ठाउँमा उपचार गर्नलाई धेरै मँहगो पर्छ। अहिले आर्थिक अभाव भइरहेको छ। पीडितका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्छ।'

घरमा बस्दा अनुहार नढाकी बस्ने गरेको उनले बताइन्। बाहिर घाममा जाँदा इन्फेक्सन गर्ने भएकोले अनुहार छोपेर हिँड्ने गरेको उनले जानकारी दिइन्।

'कडा कानुन बनाइनुपर्छ'

विशेषगरी दक्षिण एशियाली राष्ट्रमा एसिड आक्रमणको घटना बढ्दै गएको र यसको मुख्य कारण प्रेम प्रस्ताव अस्विकार रहेको नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। उनी भन्छन्, 'एसिड सबैभन्दा खराब केमिकल हो भनेर सबैलाई बुझाउनुपर्छ। बिक्री-वितरणमा रोक लगाउनुपर्छ।'

संहिताको परिच्छेद १४ मा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रूपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

एसिड आक्रमण भएपछि उपचार गर्न धेरै मँहगो पर्ने भएकोले सरकारले नि:शुल्क गर्नुपर्ने उनले बताए। पीडितको जीवन पहिलेको जस्तो नहुने हुनाले मनोबल बढाउन सरकारले विशेष व्यवस्था गर्नुपर्ने र पीडकका लागि सबैभन्दा कडा कानुन हुनुपर्ने उनको भनाई छ।​

कानुनले के भन्छ ?

२०७५ भदौ १ गते मुलुकी अपराध संहिता जारी भयो।

संहिताको परिच्छेद १४ मा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रूपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउन सकिन्छ भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.