पाकिस्तानसहितका देश विरोधमा उत्रिए

|

कोरोना भाइरसका महामारीका कारण अहिलेपनि विश्‍व खेलकुद लयमा फर्किन सकेको छैन। विश्‍वका ठूला प्रतियोगिताहरु सारिएका छन्। घरेलु प्रतियोगिताहरु बन्द रंगशालामा खेलाइएका छन्। तर कोरोना कहरबीच कडा स्वास्थ्य सुरक्षाका साथ खेलकदु गतिविधि विस्तारै मैदान फर्किँदैछन्।

सीमित खेलहरु मैदानमा फर्किरहँदा तीनमहिना पछि अर्थात अक्टोबर नोभेम्बरका लागि तय भएको टी-२० विश्‍वकप एक वर्षपछि धकेलिएको छ। आईसिसीको यो निर्णयलाई धेरैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को प्रभावमा परेर गरेको निर्णय भनेका छन्। 

धेरै देशका क्रिकेट संघहरुले औपचारिक प्रतिक्रिया नदिए पनि स्वास्थ्य सावधानी अपनाएर टी-२० विश्‍वकप गर्न सकिने सम्भावना हुँदाहुँदै प्रतियोगिता एक वर्षपछि धकेलिनु चिन्ताजनक भएको स्थानीय मिडियाहरुलाई प्रतिक्रिया दिएका छन्।

यद्यपि आईसिसीको यो निर्णय सुझवुझपूर्णरुपमा बिसिसीआईलाई फाइदा पुर्‍याउन गरिएको एकल निर्णयका रुपमा रहेको पाकिस्तानले आरोप लगाएको छ। पाकिस्तानको यो आरोपलाई आईसिसीका अन्य सदस्य राष्ट्रहरुले पनि मानेका छन्। 

आयोजक अस्ट्रेलियाले स्वास्थ्य सावधानी अपनाएर विश्‍वकप गर्न आफ्नो देश सक्षम रहेको पटक-पटक भन्दै आएको थियो। अन्य सदस्य राष्ट्रहरुले पनि विश्‍वकपको मिति सरेमा अन्य प्रतियोगितालाई पनि असर गर्ने भएकाले तोकिएको मितिमा हुनुपर्ने आवाज उठाएका थिए।

बिसिसिआईको दबाब

आईसिसीका अध्यक्ष शशांक मनोहरमाथि बिसिसीआईका अध्यक्ष सौरभ गांगुलीले पटक-पटक भेटेर टी-२० विश्‍वकप सार्न दबाब दिँदै आएका थिए। टी-२० विश्‍वकप हुने नहुने अन्योलबीच आईपिएलको जारी सिजन रद्द गरिएको थिएन। तर बिसिसीआईले प्रतियोगिता अनिश्‍चितकाललाई स्थगित गरेको थियो। 

भारतमा ठूलो लगानी र आयको स्रोतका रुपमा रहने आईपीएल कुनै पनि हालतमा हुनुपर्ने दबाब बिसीसीआईमाथि थियो। अध्यक्ष गांगुलीले आईपीएल हुने पटक-पटक दोहोर्‍याएका थिए। 

टी-२० विश्‍वकप सार्न निरन्तर दबाब दिएको बिसिसिआईले त्यही भएरनै २९ मार्चबाट सुरु हुने आईपीएल ४ महिनासम्म रद्द नगरेर टी-२० विश्‍वकपको निर्णय कुरेको थियो। 
अन्तत बिसीसीआईको जित भएको छ र टी-२० विश्‍वकप एकवर्षपछि सरेको छ। विश्‍वकप सरेको केही दिनमा नै आईपिएल १९ सेप्टेम्बरबाट ८ नोभेम्बरसम्म युएईमा आयोजना हुने निर्णय बिसिसिआईले गरेको छ।

बिसिसिआईलाई फाइदा खेलाडीलाई राहत

कोरोना महामारीका कारण निरन्तर फ्रेन्चाइज प्रतियोगिताहरु नहुँदा तथा लामो समय आराम गरिरहेका खेलाडीका लागि आईपिएल आयोजना हुँदा फाइदा हुने छ। एकतर्फ विश्‍वका धेरै स्टार खेलाडीहरुले आफ्नो अनुबन्धन अनुसारको रकम पाउने छन्। 

भने अर्को तर्फ बिसिसीआईले पनि कोरोना महामारीबीचमा ठूलो मात्रामा आर्थिक लाभ आईपिएलमार्फत पाउने छ। आईपीएलमा अर्बौं रुपैयाँको चलखेल हुने भएकाले पनि सटेबजार देखी विश्‍वभरका खेलाडीको नजर आईपिएलमा पर्नु स्वभाविक हो।

तर भारतको घरेलु मैदान बाहिर प्रतियोगिता हुने भएकाले दर्शकको अभाव भने हुने छ। दर्शकबाट उठ्ने रकम नभएपनि स्पोन्सरबाट आउने अर्वौ रुपैयाँको चलखेलका लागि पनि टी-२० विश्‍वकप एकवर्षपछि धकेलिएको हो।

बिसिसिआईका लागि विश्‍वकप भन्दा आईपिएल जरुरी : अख्तर

पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तर तथा राशिद लतीफले एसिया कप र टी-२० विश्‍वकप कोरोनाका कारण नभई बिसिसिआईका कारण सरेको आरोप लगाएका छन्। उनीहरुले आईपीएलको घाटा सहनु भन्दा टी-२० विश्‍वकप नहुनु उनीहरुका लागि हितकर भएको आरोप अख्तरको छ।

‘अहिले केही शक्तिशाली ब्यक्ति तथा शक्तिशाली बोर्ड (बीसीसीआई)ले विश्‍व क्रिकेट चलाइरहेको छ', उनले भने, 'यो वर्ष एशिया कप हुन सक्थ्यो। भारत-पाकिस्तान क्रिकेट हुने राम्रो अवसर पनि थियो। त्यस्तै टी-२० विश्‍वकप पनि हुन सक्थ्यो। तर केही ब्यक्तिहरु यो हुन नदिन पछिल्लो ६ महिनादेखि लागिरहेका थिए।’

पैसा मात्रै सबथोक होइन

अख्तरले आफूले केवल सुझाव दिएको बताए। 'आज क्रिकेट बचाउन जरुरी छ। मलाई तथा सचिन तेन्दुलकरलाई क्रिकेट हुनु र नहुनुले केही फरक पार्दैन तर राम्रो क्रिकेट देख्‍न नपाइने होकी भन्‍ने आशंका उब्जिएको छ,’ उनले भने, 'आज शक्तिशाली मान्छेको चहाना पैसा केन्द्रित भएको छ। जसले क्रिकेटको भविष्य अन्योल बनेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.