|

बाँके : जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको पाइएको छ। शुक्रबार फेला परेका चार जना क्वारेन्टाइन बाहिरका भएका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। 

उनले समुदायस्तरमा संक्रमणको अवस्था पत्ता लगाउन जोखिम समूहको पहिचान गरी स्वाब संकलन गरिएको बताए। पिसिआर जाँचलाई समुदायस्तरमा विस्तार गरिएको पनि उनले बताए। उनका अनुसार, कोहलपुरका ९३ जनाको स्वाब ८ साउनमा लिइएको थियो भने नेपालगन्जका ५५ जनाको स्वाब ६ साउनमा संकलन गरिएको हो। 


‘पिसिआर विधिबाट कोरोना जाँच गर्दा कोहलपुरका दुई र नेपालगन्जका दुई गरी समुदाय भित्रका चार जनामा कोरोना पुष्टि भएको उनले बताए। यसले समुदायस्तरमा कोरोना फैलिएको संकेत गर्छ,’ उनले भने।
 
श्रेष्ठले दिएको जानकारीअनुसार कोहलपुरमा फेला परेका एक जना भारतबाट सीधै घरमा गएको बुझिएको छ। नेपालगन्जमा फेला परेका पनि भारतबाट आएका हुन सक्ने अनुमान गरिएको छ। 

उनले सर्वसाधारणको बढी भीडभाड हुने कार्यालय समुदाय र समूहको पहिचान गरी स्वाब संकलन भइरहेको बताए। अहिलेसम्म त्रिभुवन चोकमा भेला हुने मजदुर चलायमान समुदाय भित्र पर्ने पत्रकार, सर्वसाधारणको धेरै भीडभाड हुने यातायात, भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना जाँच गरिएको बताए। 

भेरी अस्पतालमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा नेपालगञ्जका दुई र कोहलपुरका दुई जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए। योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या चार सय पुगेको छ। श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुष र १२ नं. वडाका १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

बाँकेमा तीन सय ७० जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म तीन वटा गाउँपालिका कोरोनामुक्त भइसकेका छन्। दुई जनाको स्वाब संकलन भए पनि रिपोर्ट नआउँदै मृत्यु भएको थियो। पछि उनीहरुमा संक्रमण पुष्टि भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.