|

कञ्चनपुर : दुई वर्षअघि कञ्‍चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले न्याय पाउने आशा अझै जीवितै रहेको बताएकी छिन्‌। 

हत्या भएको दुई वर्ष बितिसक्दा समेत अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। 'मिडिया ट्रायल' हुँदै 'कन्सिपिरेसी'सम्मले यो हत्याकाण्डबारेको अनुसन्धान प्रभावित पारेको छ।

‘प्रहरीले सहि तरिकाले अनुसन्धान पहिल्यै थालेको भए न्यायका लागि यति लामो समय पर्खनु पर्ने थिएन,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘अझै गहिरो तरिकाले अनुसन्धान गरी न्याय दिलाई दिनुपर्‍यो।’ 

हत्यारालाई कारबाही गरिनुपर्छ भनेर ठूलो आन्दोलन भएपछि आधादर्जन बढी छानबिन टोली गठन गरिएपनि हत्यारा पत्ता लगाउन नसक्दा आफूहरू निराश भएको उनले बताएकी छिन्‌।

​‘सही तरिकाले अनुसन्धान हुनुपर्‍यो भन्ने मेरो भनाई हो, त्यो भएन, शंका लागेको व्यक्तिबारे मैले प्रहरीलाई पहिले नै जानकारी दिइसकेको छु, अब प्रहरीले यो अपराधी हो भनेर भनिदिनुपर्‍यो,’ उनले भनिन्, ‘हत्यारालाई पक्राउ गरी कारबाही भएको भए निर्मलाका लागि आवाज उठाउनेहरूको आवाज खेर जाँदैनथ्यो, मेरी छोरीको आत्माले शान्ति पाउँथ्यो।'

हत्यारालाई कारबाही गरी आफूलगायत परिवारले भोग्नुपरेको असह्य पीडा कम गर्नतर्फ लाग्नुपर्नेमा त्यसो हुन नसकेकोमा निराश भएको दुर्गादवीले बताइन। ‘निर्मलाको न्यायका लागि आवाज उठाउने सबै जनालाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘हत्यारालाई पक्राउ गरी कारबाही भएको हेर्ने चाहना अझै छ।’

छोरीहरुले बलात्कार भएर मर्नु नपरोस्‌ भन्ने आफ्नो भावना रहेको र अपराधीलाई कठोर सजायको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भनिन्‌, ‘समयमै अनुसन्धान गरी न्याय दिने व्यवस्था गरियोस्‌, पीडितलाई थप पीडा दिने कार्य नहोस।’ प्रहरीको टोली हिजो मात्रै घरमै आएर अनुसन्धान जारी रहेकाले चाँडै हत्यारा पत्ता लाग्ने आश्वासन दिएर गएको उनले बताइन। ​यति लामो समयसम्म अनुसन्धान हुँदा पनि अपराधी पक्राउ पर्न नसक्दा प्रहरीको आश्वासनप्रति विश्वास नलागेको उनले बताएकी छिन्‌।

​जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले निरन्तर रुपमा निर्मलाका हत्यारा पत्ता लगाउनका लागि अनुसन्धानको कार्य भैरहेको बताए। विभिन्न आयामबाट अनुसन्धानको कार्य भैरहेको उनको भनाई छ।

दुई वर्ष पहिले साउन १० गते बलात्कार पश्चात हत्या गरिएकी निर्मलाको शव उखुबारीमा फेला परेको थियो। उखुबारीमा शव फेला परेपछि उच्चस्तरीय छानबिन टोलीबाट अनुसन्धान गर्दा समेत हत्यारा अझै पत्ता लाग्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.