|

दैलेख : सेताम्मे फुलेका दारी हावा पानी घाम छेक्न मुस्किल पर्ने छानो त्यही छानोमा बेला–बेला गरी दुई दशकदेखि जीवन जिउँदै आएका नौमुले गाउँपालिका ३ द्वारिका दलबहादुर बुढाको शहर देख्‍ने सपना छ।

भेडीगोठमा २५ वर्ष बिताएका दलबहादुरले उमेर ढल्किँदै जाँदा भेडीगोठदेखि शहरसम्मको सपना देखेका छन्। उनी भन्छन्, 'उमेरमा शहर देख्‍न पाइएन उमेर ढल्कँदै जाँदा शहर देख्‍न पाए हुन्थ्यो जस्तो लाग्छ, धनीहरूका लागि शहर भनेको सामान्य होला म जस्ता भेडी गोठालोलाई शहर सपना हो।'

गाउँले जीवन त्यसैमा भेडीगोठको लामो यात्रा घाम छेक्न मुस्किल पर्ने छानोभित्र यत्रतत्र राखिएका पुराना लत्ता कपडा पानी नछेक्ने छानोको भित्र सुत्ने ठाउँ नजिकै आगो बाल्ने अँगेनो, सुत्नका लागि भेडाको ऊनबाट बनाइएको पाखी एकसरो ओढ्ने कपडा छानोको माथिपट्टी झुण्डाइएको औषधिका रूपमा प्रयोग गरिने लेकाली भ्यागुतो। यो नै उनको वास्तविक यथार्थ हो।

अँगेनोको माथिपट्टी सुकाइएको लेकाली भ्यागुतो उनले आफू बिरामी परेका खण्डमा औषधिका रूपमा प्रयोग गर्ने गरेका छन्। यो के हो? भन्ने प्रश्नमा उनले भने, 'भेडा चराउन जाँदा कहिलेकाहीँ चोट पटक लाग्छ  कहिले पेट दुख्छ कहिले ज्वरो आउँछ यसलाई घोटेर खाए ज्वरो सन्चो हुन्छ घाउ भएको ठाउँमा पनि लगाए सञ्‍चो हुन्‍छ।'

शाखा सन्तान ४१, हटेन दुःख

भेडीगोठे दलबहादुरका ७ छोरा १ छोरी छन्। सबै छोराहरूले बिहे गरेर बुहारी भए अनि नाति नतिना पनि भए अहिले छोराछोरी सबैबाट ४१ जना पुगिसकेका छन्। तर, दलबहादुरको जीवन भेडीगोठभन्दा माथि उठेको छैन।

पहिले सन्तान जन्माउने रहर हुर्काउँदै जाँदा सुख पाइएला भन्ने आशा समाजमा छोरा छोरीको कमाई खाएर शानका साथ भेडीकोठबाट माथि उठ्ने चाहना अहिले उनका जवानीमा साँचिएका चाहाना विस्तारै हराउँदै गएका छन्। उनी भन्छन्, 'जवानीका सपना कल्पना जस्तै भए अहिले मर्ने बेला सहर देख्‍ने सपना जागेको छ। खै एक भेडीगोठालाको सपना कसरी पूरा होला।'

कुकुरको साथ

अहिले उनलाई कुकुरको सहाराबाहेक अरूको साथ छैन। चारैतिर जङ्गल एक्लो जीवन, साथीको नाममा कुकुर अनि एक हुल भेडा। बिहान उठ्नेबित्तिकै उनको दैनिकी भेडाको हेरचाहमा बित्छ। उनलाई आफ्नो उमेर थाहा छैन। कति वर्ष पुग्नुभयो? भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने, 'भेडीगोठमा बस्न लागेको २५ वर्ष पुग्यो कति वर्षको भएँ थाहा छैन।'

भेडीगोठबाट सदरमुकाम दैलेख बजारदेखि ३ दिन टाढा पर्दछ उनी बसेको स्थानबाट स्वास्थ्य संस्थामा जान पनि करिब ६ घण्टा लाग्दछ। लेकाली भ्यागुतो उनलाई लाग्ने सबै रोगको औषधि हो। 

दैलेखका लेकाली भूभागमा भेडाको उनबाट निर्माण गरिने पुराना परम्परागत शैलीबाट निर्माण गरिने सामानहरू लोप हुँदै गएका छन्। ग्रामीण बस्तीहरूमा अहिले पनि देखिने यस्ता निकै पुराना शैलीहरू सहरिया मानिसहरूको लागि अचम्मको विषय बन्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.