कर्मचारीलाई नै ७० लाख दिन बाँकी, मिलको चल अचल सम्पत्ति बिक्री गरिने

|

रौतहट : व्यवस्थापन पक्षले घाटा भएको भन्दै गरुडास्थित श्रीराम सुगर मिल साउन ९ गतेबाट स्थायी रुपमै बन्द भएको छ। २०४९ सालमा स्थापना भएको सो मिल सञ्चालन गर्न नसकिने भन्दै व्यवस्थापन पक्षले साउन ११ गतेबाट विधिवत् रुपमा बन्द गरेको जनाएको छ। 

गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमै बन्द हुने जनाएको हो। विविध कारणले किसानको उखुको रकमसमेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौं नोक्सानी बेहोर्नुपरेको सूचनामा उल्लेख गरिएको छ।

आर्थिक वर्ष ०७५÷७६ सम्ममा कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७६ रुपैयाँ पुगेको श्रीराम सुगर मिल्सले जारी सूचनामा जनाएको छ। मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी दिन नसक्ने अवस्थामा पुगेको थियो। 

आर्थिक ०७६/७७ मा मिलले १३ दिन मात्रै उखु क्रसिङ गरेको थियो। मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिनादेखिको तलब तथा सञ्चयकोषको रकमसमेत दिन नसकेको समेत उक्त सूचनामा उल्लेख छ। 

यता नगदे बालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक संघले जनाएको छ। यसै गरी अवकाशप्राप्त कर्मचारीको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ।

आइतबारदेखि उद्योग बन्द भएको जानकारी गराउँदै मिलले तिर्नुपर्ने कर्मचारीहरुको सबै किसिमको तलबभता क्रमशः भुक्तानी गर्दै जाने जनाएको छ। उखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिलको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको मिलको सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.