‘देउवाले महाधिवेशन प्रभावित पार्ने खेल थाले’ : पौडेल

|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आफ्नो गुट बलियो बनाउने होडबाजी सुरु भएको छ। 

चार वर्षे कार्यकाल सकिँदासम्म विभाग गठन र विस्तार नगरेका सभापति शेरबहादुर देउवाले थपिएको एक वर्षे अवधिको अन्तिम ६-७ महिनामा विभाग गठन र विस्तारलाई तीव्र पारेका छन्।

१३औं महाधिवेशनबाट सभापति बनेका देउवाले हालै महिला विभागमा सचिवसहित ३८ जना मनोनित गरेका थिए। कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ। सो व्यवस्था विपरीत सभापतिले महाधिवेशनलाई प्रभावित गर्ने गरी विभाग गठन र मनोनयन गरिरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आरोप लगाएको छ। 

आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकले ‘वर्तमान सभापतिले आसन्न महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाका लागि काम गर्न थालेकाले पार्टीको महाधिवेशन नै स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका बढाएको निश्कर्ष निकालेको छ।

थाहाखबरसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले बैठकमा क्रियाशील सदस्यतालगायतका विषयमा छलफल भएको पनि जानकारी दिए।‘धेरै कुराहरु छ, क्रियाशिल सदस्यताको बारेमा, अनुशासनको काम अन्धाधुन्दा भएको छ, अधिवेशनको तयारी छैन,' उनले भने, ‘यी सबै विषयमा छलफल गरेका हौं।’ सभापति देउवा कामकुरा एकातिर, कुम्लोबोकी ठिमीतिर भने झै गरी अघि बढिरहेको आरोप पनि पौडेलले लगाए। 

‘तलदेखि नै क्रियाशील सदस्यता राम्रोसँग वितरण गर्ने कुरा छोडेर, पार्टीको भातृ संस्थाको अधिवेशन गराउने कुरालाई छोडेर, तलदेखि अधिवेशनको तयारी गर्न छोडेर, विभाग गठन गर्दै, पद बाँड्दै, भएका विभाग २८ बाट ४७ पुर्‍याउनेजस्ता गतिविधि भए, यो महाधिवेशनलाई प्रभावित पार्ने काम हो,' : पौडेल

तर कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत भने सभापतिले गठन विभाग गर्नुलाई त्यसरी विवादको विषय नबनाउन वरिष्ठ नेता पौडेल लगायतका नेताहरूसँग आग्रह गरेका छन्। ‘विभाग गठन गर्ने अधिकार विधानले पार्टी सभापति (देउवा)लाई दिएको छ, कसैलाई सोध्नु पनि पर्दैन, तर पनि उहाँ (देउवा)ले सुरुदेखि नै सहमतिमा विभाग गठन गर्ने प्रयास गर्नुभएकै हो, तर उहाँहरु (पौडेलहरु)ले दिनुभएन, विभाग नै नबनाएर कार्यकाल समाप्त हुने स्थिती राम्रो होइन, उहाँहरुले त्यसमा सहयोग नगरेपछि सभापतिले केहि विभागमा मनोनित गर्नुभएको हो, अझै पनि कतिपय विभाग गठन गर्न बाँकी नै छ, महतले भने ‘सबैलाई सहभागि गराउन सभापति अझै पनि तयार हुनुहुन्छ, यति हुँदाहुँदै अधिवेशन प्रभावित हुने कुरा हुँदैन, त्यसो हुनाले रामचन्द्र दाईहरूले यो विषयलाई इस्यु* नबनाएको भए राम्रो हुन्थ्यो।’ 

विधानमा ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने उल्लेख भए पनि समयमै होस् भन्ने उद्देश्यले त्यस्तो व्यवस्था गरिएको भन्दै उनले ६ महिनापछि गर्न नमिल्ने भन्ने नरहेको तर्कसमेत गरे। महतले तत्कालिन सभापति सुशील कोइरालाले पनि ३ वर्षपछि विभाग गठन गरेको उल्लेख गरे। महाधिवेशन समयमै नहुने हो की भन्ने आशंका बढिरहेका बेला महतले यो स्थानीय तहमै निर्भर हुने जवाफ दिएका छन्।

‘चार महिना त हामीले लकडाउनमा बितायौँ, तै पनि अन्तिम मिति त्यहि (२०७७ फागुन ७-१०) नै राख्ने भन्ने भएको छ, जिल्ला-जिल्ला मात्र होइन वडासम्म नै क्रियाशिल सदस्यताको काम अघि बढिसकेको छ, धेरै कुरो स्थानीय तहमै निर्भर पर्छ,' उनले भने, ‘लकडाउन खुलिसकेको छ अब संक्रमणको स्थिति कसरी जान्छ? अब परिस्थितीमा निर्भर रहन्छ, तर नेतृत्व चाहिँ समयमै अधिवेशन गर्न प्रतिबद्ध छ।’  

तर, वरिष्ठ नेता पौडेलले भने महाधिवेशन कुनै पनि हालतमा गर्ने पर्ने जिकिर गर्दै आएका छन्। उनलेभने 'तोकिएको मितिमा महाधिवेशन नगरे त कांग्रेस सिद्धिन्छ, तर म कांग्रेस सिद्धिन दिन्नँ!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.