|

जुम्ला : आइतबारदेखि जुम्ला जिल्ला कोरोना संक्रमितमुक्त बनेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका सबैको परीक्षण नतिजा नेगेटिभ आएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिएका छन्‌। 

जिल्लामा संक्रमित शुन्य भएपछि कोभिड विरुद्धको अभियानमा जुटेका स्वास्थ्यकर्मीलाई प्रशासनले सम्मान गरेको छ। जिल्ला प्रशासन कार्यालयले कोरोना विरुद्धको लडाइँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्ला सफल भएको भन्दै प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयमा कार्यरत्त स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो।

'संक्रमण कमी भएपनि बीचमा बढ्यो, तर जुम्लालाई यो स्थानमा ल्याउन सवै पक्षको सहयोग रहेकाले सबैको नतिजा नेगेटिभ आएको छ,' प्रतिष्ठानका डा. धिरज गुरुङले भने, 'परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने हुनाले नागरिकलाई सचेत रहन सुझाव दिएका छौं।'

स्वास्थ्यकर्मीको टोलीलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले महामारीजस्तो संकटको समयमा नागरिकका लागि स्वास्थकर्मी वास्तविक नायक सावित भएको बताए। 'नागरिकको ज्यान जोगाउन जोखिम मोलेर खटिएको भन्दै सम्मान स्वरुप उत्साह दिइएको हो,' उनले भने, 'अझैपनि राष्ट्रसेवकले राज्यलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नुपर्नेमा दुईमत छैन।'

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुले गरेको सहयोग अतुलनीय रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.