|

काठमाडौं : कोभिड-१९ को महामारी चलिरहेको बेला सामान्य रोगको परीक्षण गर्न अस्पताल जाँदा सार्वजनिक यातायातको प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आम सर्वसाधारणलाई अनुरोध गरेका छन्। काठमाडौंमा दिनदिनै संक्रमण बढिरहेको बेला काठमाडौंबासीले अझ बढी सचेत हुनुपर्ने उनको भनाइ छ। 

थाहा खबरसँगको फोन संवादमा उनले भने, 'अस्पताल जाँदा वा घर-परिवारसँग बस्दा २ मिटर टाढा अनिवार्य बस्नुपर्छ। उपचार गर्नदेखिबाहेक यस्तो समयमा बाहिर निस्कनु हुँदैन।' काठमाडौंका बढी भिडभाड हुने क्षेत्रमा यसको संक्रमण देखिन थालेको विशेष सावधानी अपनाउनलाई उनले सुझाए।

दैनिकजसो विदेशबाट मानिसहरू आएकोले पनि काठमाडौं बढी जोखिममा रहेको उनको भनाइ छ। हवाई र स्थलमार्गबाट प्रवेश गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्यप्रति स्वास्थ्य मन्त्रालयले चासो गरिहेको पनि उनले जानकारी दिए।

विदेशबाट आउने हरेक नेपालीले स्थानीय सरकारले बनाएको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा अनिवार्य बस्नलाई सरकारले निर्देशिका जारी गरिसकेको उनले बताए।

क्वारेन्टाइनमा बस्नको लागि घरपरिवारका अन्य सदस्यले पनि सहयोग गर्नलाई उनले आग्रह गरे। महामारीको बेला कोही-कसैले भेदभाव गर्न नहुने उनको भनाइ छ। होम क्वारेन्टाइनमा बस्दा सरकारले तयार पारेको निर्देशिका अनुसार बस्नुपर्ने उनले बताए।

क्वारेन्टाइनमा बसेको पाँच दिनमा पिसिआर परीक्षण गरिने उनले बताए। क्वारेन्टाइनमा बस्ने साथ कसैको पनि पिसिआर परीक्षण नगरिने उनले जानकारी दिए। कोही कसैमा संक्रमणको विकास विकास भएको छ भने पाँच दिनमा मात्र देखिने भएकोले क्वारेन्टाइनमा बसेको पाँच दिनमा परीक्षण गरिरहेको उनले बताए। नेपाल सरकारले तयार गरेको निर्देशिका अनुसार १४ दिन क्वारेन्टाइनमा बस्नलाई पनि गौतमले सुझाए।

'सामाजिक दूरी कायम नगर्ने सवारीलाई कारबाही गर्छौं'

सामाजिक दूरी कायम नगरी सञ्चालित सार्वजनिक यातायातलाई कारबाही गरिने महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता वामदेव गौतमले बताए। लकडाउन खुलेयता सामाजिक दूरी कायम नगरी सञ्चालित १ सय ६६ सार्वजनिक यातायातलाई कारबाही गरिएको उनले जानकारी दिए। सार्वजनिक यातायातले सामाजिक दूरी कायम गरेको नगरेको ट्राफिक प्रहरीले त्यसको अनुगमन गरिरहेको उनले प्रष्‍ट पारे।

प्रवक्ता गौतमले भने,'काठमाडौं उपत्यकाको चोक-चोकमा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमन गरिरहेका छन्। जरिवाना गर्दै यातायातका साधन हरुलाई छोडिएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.