|

सिमरा : जितपुर-सिमरा  उपमहानगरपालिकाका प्रतिपक्ष दलका वडाध्यक्षहरुले समयमै नगरसभा गर्न नगरप्रमुख डा. कृष्ण पौडेलको ध्यानाकर्षण जनाएका छन्। कांग्रेस र राजपाका ७ जना वडाध्यक्षले आज नगरप्रमुख पौडेललाई भेटेर ज्ञापन पत्र नै बुझाएका हुन्। 

पत्रमा कार्यपालिकाको बैठकको मिति तोक्न, नगरसभा नभएसम्म पुरानै दररेटमा राजस्व कायम हुनुपर्ने, गत आर्थिक वर्षको आय व्यय पारदर्शी हुनुपर्ने लगायतका माग उल्लेख छन्। 
गत आर्थिक वर्षको खर्च भएको योजनाको रकम समेत भुक्तानी नभएको भन्दै भुक्तानीका लागि पहल गर्न समेत वडाध्यक्षहरुले माग गरेका छन्। 

कानुनत: असार १० गतेसम्म नगरसभा हुनुपर्ने र असार २० गतेभित्र नीति तथा कार्याक्रम पास हुनुपर्ने व्यवस्था भए पनि उपमहानगरको नगरसभा हालसम्म हुन सकेको छैन। नगरसभा ढिलो हुँदा वडाको दैनिक कामकारबाहीमा समस्या भएको भन्दै प्रतिपक्ष दलका वडाध्यक्षले साउन १५ भित्र नगरसभा नभए वडा कार्यालय तालाबन्दी गरेर चाबी बुझाउने जनाएका छन्। 
साथै उनीहरुले नगरपालिकामा समेत तालाबन्दी गरेर  धर्ना दिने चेतावनी दिएका छन्। 

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख डा.कृष्ण पौडेलले हालका लागि राजस्वको दररेट परिवर्तन नगरिएको र साउन महिना भित्रै गर्ने गरी तयारी भइरहेको जानकारी गराएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.