|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले पार्टी एकता जोगाउन बहुमत र अल्पमतको खेल नखेलिने बताएका छन्‌। 

अहिले पार्टीभित्र लामो समयदेखि जारी विवाद मत्थर हुनुको साटो चर्किँदै गएको छ। कार्यकारी अध्यक्ष्य पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत शीर्ष नेताहरूले पार्टी अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र व्यवहार ठीक नभएको भन्दै राजीनामा मागिरहेका छन्‌।

​सचिवालयदेखि स्थायी कमिटीसम्म राजीनामा मागपनि ओलीले त्यसलाई नकार्दै आएका छन्‌‌। मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको स्थायी कमिटी बैठक कार्यकारी अध्यक्ष दाहालसँग सहमति नै नगरी ओली आफैंले स्थगित गरिदिएका छन्‌। बैठक बस्ने/नबस्नेबारे अध्यक्षद्वयको सहमतिमा मात्र निर्णय गर्ने परम्परा रहेपनि ओलीले एकल निर्णयबाटै बैठक रोकिदिनु र त्यसपछि अर्को समूहको बैठक बस्नुले नेकपाभित्रको विवाद झनै नयाँ तहमा पुगेको विश्लेषण हुन थालेको छ। 

परम्परामा ब्रेक, विवाद बढेको-बढ्यै

नेकपाका स्थायी कमिटी सदस्य मणि थापा अध्यक्षद्वयको सहमतिमा बैठक बस्ने र स्थगित हुने परम्परामा ब्रेक लागेको बताउँछन्। ‘अध्यक्षद्वयको सहमतिमा बैठक बस्ने र स्थगित हुने परम्परा थियो, हाम्रो चाहना पनि त्यही थियो, तर आज त्यसो हुन सकेन,' थाहाखबरसँग कुरा गर्दै थापाले भने, 'त्यसपछि भएको बैठक अहिलेको समस्याको एकप्रकारको क्लाइमेक्स (चरमोत्कर्ष) नै हो।  

अहिले पार्टी एकता र महाधिवेशनको पक्षमा ठूलो जनमत देखापर्दै गएकाले विवाद समाधान हुने दिशातर्फ अघि बढेको थापाले दावी गरेका छन्‌। ‘यतिखेर पार्टीभित्रको समीकरण पनि चेन्ज (परिर्वतन) भइरहेको छ, पार्टी एकता र महाधिवेशनको पक्षमा एउटा ठुलो जनमत देखापर्दै गएको छ र सचिवालयका नेताहरुले पनि त्यो खालको अभिव्यक्ति राखेको हुनाले अब विस्तारै समाधानतिर जाने देखिएको छ।’ बामदेव गौतमले राखेको छ बुँदे प्रस्तावअनुसार नै पार्टी अघि बढ्ने उनले संकेत गरे।

‘बामदेव कमरेडले पनि केहि प्रस्ताव राख्नुभयो, हामीले त दुबै अध्यक्षको सहमति र सहकार्यबाट निर्णय गरौं, त्यो नै वैज्ञानिक र वैधानिक हुन्छ भनेका थियौं, मलाई लाग्छ : अब त्यतैतिर जान्छ होला।’ बामदेवको तहबाट त्यो खालको प्रस्ताव आउनुले ठूलै अर्थ राख्ने थापाले बताए।

एकता प्रक्रिया टुंगो नलागेको अवस्थामा बहुमतका आधारमा गरिएको निर्णय मान्य नहुने भन्ने मान्यता रहेकाले सहमतिमा नजाँदा समस्या देखिएको र सहमतितिरै जानुपर्ने थापा बताउँछन्‌। ‘सहमतिको पद्धतिमा नजाँदा यो समस्या देखिएको हो, मंगलबारको बैठक पनि सहमतिबाट नजाँदाकै परिणाम थियो, समस्या समाधान बहुमतबाट खोज्न थालियो भने समस्या हुन्छ,' उनले भने, ‘अब हामीले दुई अध्यक्षको सहमतिबाटै अघि बढ्नुपर्छ, अब नेताहरु त्यतैतिर अघि बढ्नुहुन्छ भन्ने हामीलाई लागेको छ, हाम्रो सुझाव पनि यही रहन्छ।’

हतारमा बहुमतबाट निर्णय गर्दैनौं : श्रेष्ठ

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफुहरु बहुमत र अल्पमतको प्रक्रियाबाट छिटो निर्णय गर्ने पक्षमा नरहेको बताएका छन्। बरु प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समेतलाई सहमतिमा ल्याएर निर्णयमा पुग्ने प्रयत्न गर्ने उनले बताए।

'हामी छिटो छिटो हतार–हतार कुनै निर्णय गर्ने पक्षमा छैनौँ, धर्यतापूर्वक सकेसम्म सहमतिमा निर्णय गर्न चाहन्छौं, त्यसकारणले बहुमत र अल्पमतको प्रक्रियाबाट निर्णय गर्नुभन्दा पार्टीका धेरै साथीहरुले छलफलका क्रममा व्यक्त गर्नुभएका विचारलाई ध्यान दिएर सबै कमरेडहरूबीच सहमतिद्वारा एउटा निर्णयमा पुगौँ भन्ने प्रयत्न सही छ, त्यो प्रयत्नलाई नै सकभर सफल बनाउन हामी लागिपरेका छौँ, तर आगामी बैठक कहिले बस्ने भन्नेबारे भने कुनै टुंगो छैन,’ श्रेष्ठले भने। 

अध्यक्ष प्रचण्डलगायतका नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग बैठकको मिति टुंगो लगाउन प्रयास जारी राख्ने र बैठकलाई सकरात्मक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको प्रवक्ता श्रेष्ठले बताए। ‘अहिले मिति नै किटान गर्न सकिन्न, त्यसका लागि अध्यक्ष कमरेड प्रचण्ड र अध्यक्ष कमरेड केपी शर्मा ओलीका बीच छलफल हुन्छ, हाम्रो पनि अध्यक्ष कमरेड ओली र अरु कमरेडहरूसँग छलफल हुन्छ, त्यसपछि बैठकको समय निर्धारण हुन्छ,' श्रेष्ठले भने, ‘तर हामी छिटो भन्दा छिटो बैठक गर्न र सकारात्मक निष्कर्षमा पुर्‍याउन प्रतिवद्ध छौं।’  

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्त पनि आफुहरु पार्टी एकतालाई जोगाएरै अघि बढ्ने तथा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताउँछन्।

‘लामो कुरा किन गर्नु, हामी अन्तिमसम्म प्रयत्न गर्छौं, पार्टी एकतालाई जोगाउनुपर्छ, सरकारलाई प्रभावकारी बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौ।' थाहाखबरसँग कुरा गर्दै उनले भने, 'हामीसँग बहुमत पहिले पनि थियो र अहिले पनि छ, तर बहुमतका आधारमा निर्णय गर्ने पक्षमा हामी छैनौं।' यसैकारण सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको उनले बताए। ​​

बामदेवको प्रस्तावमा सहमति जुटेन

पन्तले बामदेवको नयाँ प्रस्तावमा भने मंगलबार बसेको बहुमत स्थायी कमिटीको बैठकमा सहमति नजुटेको बताए। ‘बामदेवजीले आफ्ना कुरा भन्नुभयो, उहाँले आलोचनात्मक हिसाबले नै आफ्नो कुरा राख्नुभएको हो, उहाँको कुरा तत्काल प्रधानमन्त्री पदबाट ओलीलाई नहटाऊँ भन्ने थियो, तर बैठकमा सहमति जुटेको होइन, उहाँको प्रस्ताव मैले हेरेको पनि छैन।'

मंगलबारको बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए। गौतमले पार्टी एकतालाई मजबुद बनाउन आफूले दिएका ६ बुँदे सुझावअनुसार अघि बढ्नुपर्ने बताएका थिए। एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित प्रचण्ड अध्यक्षको जिम्मेवारीमा रहने पनि गौतमले उल्लेख गरेका छन्। 

पार्टी बैठक सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ। उनले मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा गर्नुपर्ने’ प्रस्ताव गरेका छन्। साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन्। गौतमका सुझाव अध्यक्ष केपी शर्मा ओलीलाई सघाउ पुर्‍याउने खालका छन्। 

मंगलबार बालुवाटारमा बसेको बहुमत स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले विधानविपरीत बैठक स्थगित गरेको ठहर गरेको थियो। अध्यक्ष ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपनि अर्का अध्यक्ष प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरुको बैठक अगाडि बढाएका थिए। 

साथै, बैठकले अध्यक्ष ओलीले छलफल नै नगरी विधि विपरित सूचना टाँसेर जारी स्थायी कमिटी बैठक स्थगित गर्नु ‘अनुचित’ भनेको छ। अर्को बैठक बोलाउने जिम्मेवारी अर्का अध्यक्ष प्रचण्डलाई दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.