|

डडेल्धुरा : सरकारले छोटो दूरीका सवारीसाधन सञ्चा‍लनमा ल्याएलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा यात्रुबाहक सवारी साधनको ठगी धन्दा सुरु भएको छ। यातायात व्यवसायीले मनोमानी भाडा असुल्न थालेको गुनासो बढ्न थालेको हो। सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा र दार्चुलामा यात्रुहरूले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

जिल्ला सदरमुकामबाट ग्रामिण भेगमा चल्ने सवारी साधनमा यात्रु कोचाकोच हाल्नुको साथै दोब्बर गाडी भाडा लिने गरेको यात्रुहरू बताउँछन्। सरकारले कुल सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि यहाँ सञ्चालन हुने जिपहरूले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन्। सार्वजनिक यातायातका साधनहरू सञ्चा‍लन गरेसँगै स्थानीयहरूमा कोरोनाको जोखिम बढ्ने चिन्ता पनि थपिएको छ।

तर, सम्बन्धित निकाय अनुगमन तथा नियमन गर्नुको सट्टा मौन बसेको यात्रुहरूको आरोप छ। बैतडीको पञ्चेश्वरबाट ३ सय रुपैयाँ तिरेर मेलौली त्यहाँबाट फेरी ३ सय रुपैयाँ तिरेर पाटन र पाटनबाट १ सय ५० रुपैयाँमा खोड्पे पुग्ने गरेको भएपनि आजभोलि भने दोब्बर भाडा १३ सय तिर्नु पर्ने पञ्चेश्वरका स्थानीय रमेश तिवारीले बताए।

‘सडकमा जाँच गर्न खटिएका प्रहरीले समेत वास्ता गरेनन्। गन्तव्यमा जान हतार भएकाले मैले पनि प्रहरीमा उजुरी दिन पाएन।’ उनले भने, ‘म त एउटा प्रतिनिधि पात्र मात्रै हुँ। म जस्ता त थुप्रै यात्रुहरुले समस्या भोग्नु परेको छ। तर, कसैले पनि खुलेर बोल्न सक्दैनन्।’

कोरोना भाइरसको जोखिम कायमै रहेकोले सामाजिक दुरी कायम गर्नु पर्ने भएपनि यात्रा गर्दा भने गाडीमा यात्रुहरु दोब्बर हुने भएकोले कोरोना लाग्ने पो होकि भन्ने चिन्ताले पिरोल्ने गरेको डोटीको सायल गाउँपालिकाका तेज डुम्रलले बताए।

‘कतिपयले मास्क, स्यानिटाइजरको पनि प्रयोग गर्दैनन्। एकातिर कोरोनाको डर छ भने अर्कोतिर बर्खाको बेला क्षमताभन्दा बढी यात्रु बोकेर कच्ची सडकहरुमा गाडी गुडाउँदा दुर्घटना हुने सम्भावना हुन्छ।’ उनले भने। ग्रामीण भेगका कच्ची सडकमा चल्ले गाडीहरूको कुनै भाडादर नभएर मनलाग्दी भाडा असुल गरिरहेकाले भाडादर निर्धारण गर्नुपर्ने बझाङको खप्तड छान्ना गाउँपालिकाका विमल राज जोशीको भनाइ छ। गाडीमा कोरोनाबाट बच्ने कुनै उपायहरु प्रयोग नगर्ने गरेको जोखिम बढेको उनले जानकारी दिए।

‘चालक यात्रु कसैले मास्क प्रयोग गर्दैनन्। यात्रुहरु कोचाकोच हुन्छन्। कोरोनाको जोखिम आफै बढेको छ।’ उनले भने। विद्यार्थी संगठनको विरोध यातायात व्यवसायीले मनोमानी भाडा असुलेको भन्दै नेपाल विद्यार्थी संघ डडेलधुराले जिल्ला सदरमुकाम बागबजारमा प्रदर्शन समेत गरेको छ।

यातायात व्यवसायीका अगाडि स्थानीय सरकार एवं प्रहरी प्रशासन निरीह भएको भन्दै नेविसंघ डडेलधुराले गैरकानुनी कार्य बन्दको माग गरेको हो। लकडाउन खुले पनि सरकारले तय गरेका मापदण्ड यातायात व्यवसायीले पालना नगरेको भन्दै बिद्यार्थीहरुले नियमको पालना गर्न अनुरोध गरे। यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) डडेलधुराले डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई ज्ञापन पत्र बुझाएको छ।

लकडाउन खुकुलो भए पश्चात छोटो दुरीका सवारी साधनहरुले तोकेको मापदण्ड विपरीत भाडा असुली रहेकाले तत्काल भाडादर निर्धारण गर्न सम्वन्धित निकायलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले यस्ता कार्य नरोकिए जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको हुँदा हुने क्षतिको जिम्मा सम्वन्धित सरोकारवालाले लिनुपर्ने चेतावनीसमेत दिएको छ।

११ वटा जिपलाई कारबाही लकडाउनको पालन नगर्ने सार्वजनिक यातायातका सवारी साधनलाई कारबाही गरिएको छ। लकडाउन केही खुकुलो भए पनि सरकारको नियम उल्लंघन गर्ने सार्वजनिक सवारीका साधनलाई प्रहरीले कारबाही गरेको हो। यातायात समितीको निर्णय समेत नमानी मनोमानी ढंगले सञ्चालनमा आएका छोटो दूरीका सवारीका साधान जिपले यात्रुबाट दोब्बर भाडा समेत असुली रहेका छन्।

क्षमताभन्दा आधा यात्रु बोक्ने र ५० प्रतिशतसम्म भाडा बढाउने सरकारको निती छ। तर, सावरीका साधनहरुले यात्रु खचाखच बोक्ने र भाडा पनि दोब्बर लिने गरेको खुले पछि जिल्ला ट्राफिक कार्यालय स्याउले डडेलधुराले जिप सञ्चालक एवं चालकलाई कारबाही गरेको हो। सवारी र मालसामान समेत बोकेका यहाँका स्थानीय तहका मुकाम क्षेत्रमा सञ्चालन हुने जिपलाई पहिलो पटकका लागि सामान्य जरिवाना सहित सम्झाई बुझाई छोडिएको ट्राफिक प्रहरीले जनाएको छ।

यात्रुबाट दोब्बर भाडा र मालसामानको पनि यात्रु बराबर भाडा असुल्ने गरेको गुनासो पछि चेकजाँचका क्रममा हालसम्म ११ वटा जिप मा परेको ट्राफिक प्रहरी इञ्चार्ज देव खत्रीले जानकारी दिए। उनका अनुसार यात्रुसँगै मालसामान बोकेका ११ वटा जिपलाई चेकजाँच गरी पहिलोपटकका लागी सामान्य ५ सय जरीवाननासहित सम्झाइबुझाइ गरी छोडिएको हो। लगातार भइरहेको वर्षाले यहाँका ग्रामीण सडक हिलाम्मे हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.