|

काठमाडौं : कोभिड-१९ को प्रभाव यत्रतत्र सर्वत्र रहेको छ। त्यस्तो कुनै क्षेत्र छैन जहाँ यसले प्रभाव पारेको किन नहोस्। यतिखेर गाईजात्राको लागि कलाकारहरू पनि कोरोनाको मारमा छन्। कतिपयले यसपालि कोरोनाको कारण गाईजात्रा हुन्छ या हुँदैन भन्ने अन्योलमा थिए।

तर, जहाँ समस्या त्यहाँ उपाय जस्तै अहिलेको जात्रा टेलिभिजनमार्फत दर्शकबीच आउने भएको छ। 'कोभिड १९' को त्रास र पीडाबीच आशा र हौसलाको कोसेली - '०७७ सालको गाईजात्रा' टेलिभिजनबाट प्रसारण हुने चर्चित कलाकार मनोज गजुरेलले जानकारी दिएका छन्।

'कोरोना नदेखिएको भए हामी सार्वजनिक रुपमै दर्शकबीच गाईजात्रा देखाउथ्यौं। अब कोरोनाले गर्दा नै हामी काँचको पर्दाबाट दर्शकमाझ आउन लागेका हौं।' यही साउन १५ देखि २२ गतेसम्म एपी वान टेलिभिजनमा आउन लागेको उक्त गाईजात्रामा दुई दर्जनभन्दा बढी कलाकार एकैसाथ पर्दामा देखिन लागेका हुन्।

यसपालि गाईजात्रामा कैयौं नयाँ पुस्ताको उपस्थिति हुँदैछ।  वि.स २०३७ सालदेखि गाईजात्रा गरिरहेका शैलेन्द्र सिंखडादेखि कमेडी च्याम्पियनका युवाहरूसम्मका व्यक्तिले आफ्नो प्रस्तुति दिँदैछन्।

'३७ सालमा शैलेन्द्र सिंखडा, ४७ सालदेखिका सुरेन्द्र केसी, ५५ सालदेखिका धुर्मुस सुन्तली, ६५ सालदेखिका राजाराजेन्द्र, ६६ देखिका सुबोध गौतम, ७० का सुमन कार्की र कमेडी च्याम्पियनका साथीहरू हुनुहुन्छ', गजुरेलले ठट्यौली पारामा भने, 'अनि ५२ सालदेखि गाईजात्रा गरिरहेको गजुरेलले पनि आफ्नो प्रस्तुति दिनेछन्।'

गाईजात्रामा गायक पशुपति शर्मा, गायिका बबिता बानियाँ 'जेरी', कलाकार तथा प्रस्तोता शिवशंकर रिजाल 'जोगिन्दर', रवि डंगोल, यमन श्रेष्ठ,  साहित्यकार चट्याङ मास्टर र लक्ष्मण गाम्नागेले पनि प्रस्तुति दिनेछन्।

गजुरेलले केही दिनअघि गाईजात्रामा देखाइने आफ्नो प्रस्तुतिको प्रोमो सार्वजनिक गरेका थिए। उनी विश्व स्वास्थ्य संगठनका प्रमुख (टेड्रोस एड्हानोम गेहब्रेयसस), सत्तारूढ दल नेकपाका दुई अध्यक्षमध्ये पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत पाँच अवतारमा देखिँदै छन्। उनी आफ्नो भूमिकाबारे बोल्छन्, 'फरक फरक तरिकाले प्रस्तुति दिने मेरो प्रयास हुनेछ।'

अग्रजसँग नयाँ अनुभव

कमेडी च्याम्पियनबाट  दर्शकको मन जित्न सफल सुमन कोइराला उर्फ 'दले दाई'  पनि उक्त गाईजात्रामा सामेल छन्। अग्रजहरूसँग आफू एक हिस्सा हुन पाउँदा गौरवको महसुस भइरहेको उनले बताए।

कोरोना नभएको भए उनी अहिले विश्व भ्रमणमा कमेडी गर्न पुगिसकेका हुन्थे‍। उनी भन्छन्, 'कोरोनाको प्रभाव नभएको भए गाईजात्रा गर्ने अवसर सायदै मैले पाउने थिएँ।' यो विषय परिस्थितिमा टेलिभिजनमार्फत दर्शकमाझ आउन लागेको भन्दै आफू एकदमै उत्साहित रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.