प्रहरीका पाँचवटा अनुसन्धान टोली असफल

|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त हत्या प्रकरणमा यातनाको कसुर र सार्वजनिक न्याय विरुद्धको कसुरमा मुद्दा खेपिरहेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ प्रहरीले सफाइ पाएका छन्।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको एकल इजलासले बिहीवार आठै जना प्रहरीलाई दुवै मुद्दाको सुनुवाइ गर्दै सफाइ दिएको हो।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माका अनुसार सफाई पाउनेमा  तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षक हरसिंह धामी, रामसिंह धामी र जवान चाँदनी साँउद छन्। 

‘यातना विरुद्धको कसुरमा दिएको मुद्दा मृतकको शरिरमा घाउ चोट पटक, यातनाको संकेत नदेखिएको र स्वास्थ्य परीक्षण रिपोर्टमा समेत सो कुरा उल्लेख नगरिएकाले सफाइ पाएका हुन्,’ अदालतका श्रेस्तेदार शर्माले भने, ‘सार्वजनिक न्याय विरुद्धको कसुर मुद्दामा प्रमाण लोप, नास गर्ने कारण नभएको र प्रमाण लोप हुने कारण नभएकाले सफाइ दिइएको छ।’ 

निर्मलाकी आमा दुर्गा देवीले सार्वजनिक न्याय विरुद्धको कसुरमा र प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका  दिलीप सिंह विष्टका दाजु खडक सिंह विष्टले यातनाको कसुर विरुद्धको मुद्दा दिएका थिए। 

दुवैजनाले २०७५ को पुष महिनाको ३ गते आठै जना प्रहरीविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत छुट्टाछुट्टै  मुद्दा दायर गरेका थिए। मुद्दा दायरपछि पक्राउ परेका आठै जना प्रहरी धरौटी रकम बुझाएर रिहा भएका थिए।

तत्कालीन प्रहरी उपरिक्षक दिल्लीराज विष्टले रु १० लाख, केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक अंगुर जिसीले ९ लाख, प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठीले ९ लाख प्रहरी निरीक्षक एकीन्द्र खडका ९ लाख, प्रहरी निरीक्षक जगदीश भट्ट ४ लाख, प्रहरी नायव निरीक्षक हरि सिंह धामी ३ लाख ५० हजार, प्रहरी नायव निरीक्षक रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटी बुझाएर छुटेका थिए। 

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखु बारीमा फेला परेको थियो। निर्मलाको हत्या भएको दुई वर्ष बिते पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाका परिवार अझै न्यायको पर्खाइमा छन्।

पाँचवटा अनुसन्धान टोली

निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्‍न अनुसन्धान टोली गठन गरेर अनुसन्धान गरेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र प्रहरी महानिरीक्षकको सचिवालयबाट पनि टोली अनुसन्धानमा खटाइएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायव उपरीक्षक छोटो समयमै धेरै परिर्वतन भएका थिए। तर हालसम्म पनि निर्मलाका हत्यारा भेटिएका छैनन्। 

सुरुआतमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एकीन्द्र खड्का खटिएका थिए। निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत उनीसहित सात प्रहरी निलम्बित भएका थिए। 

गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टलाई घटनाको केही महिनापछि सेवाबाट बर्खास्त गरिदिएको थियो। 

‘निर्मला प्रकरण’मा  दुई वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भएको थियो। सुरुका अनुसन्धान अधिकृत खड्का निलम्बन परेपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सम्हालेका थिए।  

उनीपछि सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रकरणको अध्ययन गर्दै गर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो। 

यसपछिका  प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जनाएको थियो।

त्यसपछि उक्त घटनाको अनुसन्धान अधिकृत रहेका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश नं ५ को दङ्गा नियन्त्रण गणमा काज सरुवा गरिएको थियो। उनी पनि केही महिना मात्रै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बसे।

घटनाको अनुसन्धानकै लागि तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट पनि प्रहरी नायव उपरीक्षक गौतम केसीसहित प्रहरी अधिकृत भीमदत्त नगर पुगेर अनुसन्धान गरेका थिए। उक्त प्रकरणपछि तीनजना जिल्ला प्रहरी कार्यालय प्रमुख फेरिएका छन्। 

वि.सं २०७५ भदौ ४ गते सार्वजनिक हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीप सिंह विष्टलाई प्रहरीले पुनः गहन अनुसन्धान घेरामा राखेको थियो। पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व प्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन प्रसाद रिजाल नेतृत्वमा गठित छानबिन समितिले डीएनएको नमूना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डीएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष गृहमन्त्रालयलाई दिएको थियो। 

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाइरहँदा शङ्काको सुई फेरि यसअघि सार्वजनिक गरिएका विष्टमाथि थियो। अझै पनि उनलाई शंकाको घेरामा राखिएको छ। 

प्रहरीको टोलीले दिलीप सिंह विष्टलाई नै अभियुक्त बनाएर अभियोजन सरकार वकिल कार्यालय कञ्चनपुर लैजान चाहेको थियो। तर निर्मलाको हत्यामा संलग्‍नको किटान गर्न प्रहरी असफल छ। प्रहरी महानिरीक्षकमा शैलेस थापा आएपछि उनले यो घटनालाई टुंगोमा पुर्‍याउने गरी तयारी थालेको नक्साल स्रोत बताउँछ। 

निर्मलाकी आमा दुर्गा देवी पन्तले पनि दिलीप सिंह विष्टको नाममा किटानी जाहेरी दिएकी थिइन्। सरकारी वकिलले विष्टलाई प्रमाण नपुगेको भन्दै छाडेको थियो। नेपाल प्रहरीकै इतिहासमा अनुसन्धानमाथि प्रश्‍न उठाउने गरी स्थापित भएको यो केस अझै अलपत्र छ। तर यस घटनाको अनुसन्धानका क्रममा लापरवाही गरेको अभियोगसहित निलम्बित आठ प्रहरीले बिहीबार सफाइ पाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.