|

रुकुम : रुकुम पश्चिममा आएको १ अर्ब ३४ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ। आर्थिक वर्ष २०७६/७७ का लागि संघ र प्रदेश सरकारबाट रुकुम पश्चिममा आएको ठूलो रकम खर्च हुन नसकेर फ्रिज भएको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका कोष नियन्त्रक खिमबहादुर केसीका अनुसार संघीय सरकारबाट जिल्लाका ६ स्थानीय तह र कार्यालयहरुमा आएको बजेटमा चालुतर्फ ९५ प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत मात्र बजेट खर्च भएको छ।

त्यस्तै, प्रदेश सरकारबाट बिनियोजन गरिएको चालु बजेटतर्फ ७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ५२ प्रतिशत रकम मात्र खर्च भएको छ। कोष नियन्त्रक केसीका अनुसार संघीय सरकारमार्फत आएको चालु तर्फको  ३ अर्ब ३४ करोड मध्य ३ अर्ब २० करोड रुपैयाँ मात्र खर्च भएको छ। तर, यो बजेट कमचारीहरुको तलब भत्ता लगायतको बजेट भएका कारण बढी खर्च भएको हो।

यस बजेटमा पनि १३ करोड बढी रकम खर्च नभएर फिर्ता भएको छ। त्यस्तै संघिय सरकारबाट विकास बजेटको रुपमा आएको ७४ करोड ४३ लाख पुँजीगत बजेटमध्ये ४१ करोड २४ लाख बजेट मात्र खर्च भएको छ। जसमा ३३ करोड १८ लाख बढी रकम खर्च हुन नसकेर फ्रिज भएको छ।

त्यसैगरी, प्रदेश सरकारबाट जिल्लामा आएको ८० करोड ८८ लाख बजेटमध्ये ६३ करोड १८ लाख मात्र खर्च भएको छ। जसमा १७ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ। जसमा कर्मचारीहरुको तलव भत्तादेखि विभिन्न तालिम लगायतका कार्यक्रमको लागि बजेट थियो।

त्यस्तै, पुँजीगत बजेटतर्फ १ अर्ब ४९ करोड बजेट रहेकोमा ७९ करोड ४२ लाख रुपैयाँ मात्र खर्च भएको छ। आर्थिक २०७५/७६ मा कुल ५ अर्ब ३१ करोड बजेट जिल्लामा आएकोमा ४ अर्ब ४ करोड मात्र खर्च भएको थियो।

प्रत्येक आर्थिक वर्षमा जिल्लामा ठूलो विकास बजेट आउने भए पनि विभिन्न बहानामा खर्च हुन नसकेर फिर्ता हँदै आएको छ। स्थानीय सरकार तथा जिल्लास्थित कार्यालयमार्फत हुने योजना छनौटमा कमजोरी, कर्मचारीको अप्रयाप्तता, योजनामा विवाद, समयमै अख्तियारी नआउने र योजना कार्यन्वयनमा उपभोक्ता तथा कार्यालयहरुको चासो नहुनुका कारण पनि बजेट खर्च नहुने समस्या भएको बताइएको छ।

तर यस वर्ष कोरोना महामारीको कारण विभिन्न विकास आयोजना तथा गतिविधिहरू सञ्चालन हुन नसक्दा बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.