समुदायमा कोरोना फैलिएमा सम्हाल्न चुनौती

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्‍वर गौतमले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप कोरोना संक्रमितको संख्या ४५ भएको जानकारी दिएका थिए । तर अहिलेसम्म यो संख्या बढेर ७० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका तीन जिल्लामा देखिएका यी अधिकांश संक्रमित पछिल्लो समय तराईका जिल्लाबाट आएको  जनाएको छ। तिनमा केही भारतीय नागरिक समेत छन् ।

७० मध्ये ६५ जना उपत्यका बाहिरबाट भित्रिएकाहरु हुन्। त्यसमा प्रदेश नं. २ को बारा पर्सा, महोत्तरी र रौतहट लगायतका जिल्लाका मात्रै ४५ भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये लकडाउन खुलेपछि काम गर्न भन्दै लुकेर झण्डै दर्जन हाराहारीमा भारतीय नागरिक पनि छन्। बिहीबारका केही संक्रमित प्रहरी प्रधान कार्यालयमा कन्ट्याक्ट ट्रेसिङमा परेका पनि छन्।

केही साँगा, नागढुंगा र फर्पिङको नाकामा स्वाब दिएकाहरू, केही लक्षण देखिएर आफैं जाँच गराउन गएकाहरू र केही अस्पतालमा उपचार गरिएका समेत भएको बताइएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये अधिकांश रौतहट, बारा र पर्साका साथै भारतबाट आएका व्यक्ति धेरै हजाम, व्यापारी, मजदुर र सवारी चालक रहेको बताइएको छ। मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले काठमाडौंमा संक्रमण भएकाहरू लकडाउन खुलेपछि काठमाडौं आउनेहरु धेरै छन्।'

सजिलैसँग उपत्यका छिर्न पाउने भएपछि संक्रमण बढेको हो। यसैगरी राजधानी प्रवेश गर्ने व्यक्ति बढेमा भयावह स्थिति हुन सक्छ। लकडाउन खुलेसँगै बिनापरीक्षण यसरी गएकाहरूबाट उपत्यकामा जोखिम बढेको हो।

अहिले अवस्था गम्भीर मोडमा पुगेको भन्दै उपत्यका आउनेलाई निरुत्साहित गर्नुपर्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन्। ठूलो जनघनत्व भएको उपत्यकामा संक्रमण फैलिएमा नियन्त्रण हुन गाह्रो हुने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्।

कोरोना फैलिन थालेपछि बिहीबार मात्रै गृहमन्त्रालयले काठमाडौं आउनेलाई कडाइ गरेको छ। गृहले राति ७ बजेदेखि बिहान ७ बजेसम्म राजधानी उपत्यका छिर्न निषेध गरेको छ भने अन्य जिल्लाबाट जारी गरिने पास पनि रद्द गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.