‘इमान्दार र निष्ठावान् नेता कार्यकर्तामाथि अन्याय भयो’

|

प्रकाश पार्की/तेज बोहरा

डडेल्धुरा/ कैलाली : नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीमा लामो समयदेखि योगदान दिइरहेका तीन नेतालाई कारबाही गर्‍यो। कांग्रेस पार्टी विधानअनुसार अनुशासन उल्लंघन गरेको भन्दै पूर्वराज्यमन्त्रीसमेत रहेका कैलालीका नेता पुष्करनाथ ओझालाई कारबाही गरेपछि कैलाली कांग्रेस दुई समूहमा विभाजन भएको छ। 

कांग्रेसको केन्द्रीय अनुशासन समितिले ओझालाई गएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारबाही गरेको होे। ओझाविरुद्ध धनगढी उप–महानगरपालिकाका नगर सभापति नृपबहादुर वड, क्षेत्रीय सभापति हरिष खड्का र वडा नम्बर ३ का वडा सभापति दीपेन्द्रबहादुर सिंहले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा उनलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको होे। ओझालाई निष्कासित गरेपछि कैलाली कांग्रेसको राजनीतिमा विभाजन ल्याएको छ। 

कैलालीका पार्टी सभापति नरनारायण शाहले ओझालाई गरेको कारबाहीले कैलाली कांग्रेसको राजनीतिमा धेरै ठूलो असर नपर्ने बताए। उनले भने, ‘जिल्लाभर असर नपरे पनि केही ठाउँमा पुरानो नेता भएको कारण असर अवश्य पर्छ, उहाँले अनुशासन समितिको निर्णय चित्त नबुझे ३५ दिनभित्र समितिमा निवेदन दिनसक्ने म्याद छ, म यो विषयमा थप बोल्न चाहन्न।’ 

पार्टीका उपाध्यक्ष प्रकाश बमले केन्द्रीय अनुशासन समितिले आफ्नो अधिकार प्रयोग गर्दै ओझालाई गरेको कारबाही स्वाभाविक भएको बताए। बमले पार्टीको अनुशासन उल्लंघन गर्ने स्थानीय तहदेखि वडासम्म नछोडिने बताए। उनले भने, ‘कारबाही गर्ने भनेर केन्द्रको अनुशासन समितिको निर्णयअनुसार सहमति भएको हो। यसलाई हामीले अनुमोदन गर्छौं।’ 

उनले थपे, ‘कैलालीको राजनीतिमा असर नपर्ने भन्ने कुरा हुँदैन, पार्टीका अन्य साथीहरूले धेरै घाटा लाग्ने आँकलन गरेका छन्, त्यस्तो धेरै घाटा भने लाग्दैन।’ उनले जिल्ला अनुशासन समितिमार्फत नै गएर कारबाही प्रक्रिया सुरु भएको बताए। 

आरजुलाई अगाडि ल्याउन ओझालाई कारबाही? 

यता, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेता कार्यकर्ताले सो निर्णयको विरोध गर्दै आएका छन्। उनीहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गराउन ओझालाई कारबाही गरेको भन्दै अनुशासन विभागको निर्णय नमान्ने चेतावनीसमेत दिएका छन्। 

नेपाली कांग्रेस कैलालीका नेता आनन्द जोशीले ओझालाई पार्टीले गरेको कारबाही फिर्ता गर्नुपर्ने बताए। उनले ओझालाई कारबाही फिर्ता गर्न सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए। यस्तै, कैलालीका जिल्ला सचिव पूर्ण कुँवरले ओझालाई गरेको कारबाहीले कैलाली कांग्रेसको राजनीतिमा ठूलो असर गर्ने बताए। उनले अनुशासन समितिले गरेको निर्णयले नेपाली कांग्रेसमा रहेका इमान्दार निष्ठावान् नेता कार्यकर्तामाथि न्याय नहुने पनि बताए। 

पूर्वराज्यमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ। उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई चुनाव हराउन भूमिका खेलेको आरोप छ। 

विष्टमाथिको कारबाही फिर्ता हुनुपर्ने माग

अब कुरा गरौँ डडेल्धुराका रामबहादुर विष्टलाई कारबाही गरेको बारे। कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टलाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीबाट निष्कासित गरेपछि त्यसको विरोध भइरहेको छ। डडेल्धुराकै केही कांग्रेस नेता कार्यकर्ताले सो निर्णयको विरोध गरिरहेका छन्। 

कांग्रेस डडेल्धुरामा चरम गुटबन्दीका कारण पार्टीको कारबाही भोग्न बाध्य उनको कारबाही फिर्ता हुनुपर्ने जिल्लास्तरीय नेता कार्यकर्ताहरूले माग छ। कार्यालय सचिव विष्टमाथि कारबाहीको अकल्पनीय खबरले सिंगो पार्टी पंक्ति स्तब्ध भएको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणकर भट्ट बताउँछन्।

उनका अनुसार यस घटनाका बारेमा पार्टीमा छलफल चलाएर कारबाही फिर्ता गराउन नेतृत्वलाई दबाब दिने तयारी भइरहेको छ। कांग्रेस डडेल्धुराका सदस्य सन्तोष देउवाले पार्टीका सभापतिको गृह जिल्लामा इमान्दार कार्यकर्तालाई पन्छाउने षडयन्त्र हुनु दुःखद भएको बताए। उनले पार्टीलाई निर्णय फिर्ता लिन बाध्य हुनेगरी दबाब सिर्जना गरिने बताए।

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीको आधार इलाका मानिने चिपुरबाट नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय देखिएका विष्ट २०६७ मंसिर ३ गतेदेखि नेपाली कांग्रेस डडेल्धुराको कार्यालय सचिवमा नियुक्त भएका थिए।

नियुक्त भएको ५ वर्षसम्म प्रतिमहिना १ हजार रुपैयाँ खाना खर्चबापत पारिश्रमिक लिएर उनी इमानदारीसाथ अहोरात्र पार्टीको काममा खटिँदै आएको नेपाली कांग्रेस डडेल्धुराका पाका नेता भरत नेपाली बताउँछन्। पार्टीका सम्पूर्ण दस्तावेजहरू कम्प्युटरमा राख्ने, पार्टी सदस्यहरुको तथ्यांक राख्ने र व्यवस्थित रूपमा पार्टी कार्यालय सञ्चालनको जिम्मेवारी विष्टले निभाउँदै आएका थिए। 

२०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनदेखि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चिपुरस्थित मतदान केन्द्रमा एजेन्ट बसेका बिष्टलाई हरेक निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै देउवाले स्वाबासी दिने गरेका थिए। 

‘सदरमुकामस्थित जिल्ला पार्टी कार्यालय तोडफोड गरेर माओवादी कार्यकर्ताहरूले जिल्लास्तरीय सबै नेता कार्यकर्ताहरूलाई कुटपिट गरेका थिए। माओवादी कार्यकर्ताहरूले कन्चटमा पेस्तोल तेर्स्याउँदा पनि ज्यानको प्रवाह नगरी माओवादी उम्मेदवार खगराज भट्टको गाउँमा कांग्रेसको एजेन्ट बसेको हुँ’ उनले सुनाए।

उनले पार्टी सभापति देउवाले समेत कामको मूल्यांकन गर्दै पटकपटक स्वाबासी दिएको बताए। २०७१ सालमा नेपाली कांग्रेसका देशभरका पार्टी कार्यालय सचिवमध्ये सर्वोत्कृष्ट कार्य गरेको भन्दै कार्यालय सचिव विष्ट पुरस्कृत भएका थिए।

‘पार्टीले उत्कृष्ट काम गरेको भन्दै २० हजार रुपैयाँ नगदसहित एउटा कम्युटर र प्रशंसा पत्र प्रदान गर्दा निकै खुसी भएको थिएँ,’ उनले भने, ‘आज पार्टीले वास्तविकता नबुझी साधारण सदस्यताबाट निष्कासन गरेको खबरले स्तब्ध भएको छु।’  

कारबाहीमा परेका विष्ट कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लनिकट मानिन्छन्। मल्ल सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन्। जिल्ला पार्टी सभापति मल्ल र केन्द्रीय सभापति देवाबीच विभिन्न विषयमा विवाद रहँदै आएको छ। मल्लले चुनावमा समेत देउवालाई असहयोग गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ। 

यसकारण भयो विष्टलाई कारबाही

गत वर्ष २०७६ साउन ७ मा नेपाल महिला संघ डडेल्धुरासँग सम्बद्ध केही नेतृहरू नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालयमा कार्यालयको ढोका तोडफोड गरेर प्रवेश गरेपछि कार्यालय सचिव विष्टले तोडफोड नगर्न आग्रह गर्दा भनाभन भएको थियो। 

सोही विषयलाई लिएर महिला नेतृहरूमाथि हातपात गरेको भन्दै कार्यालय सचिव विष्टविरुद्ध जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सार्वजनिक मुद्दा दर्ता गरिएको थियो। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कार्यालयमा तोडफोड हुँदा जोगाउन प्रयास गरेकाले विष्ट निर्दोष रहेको ठहर गर्‍यो।

कांग्रेस डडेलधुराभित्र व्याप्त चरम गुटबन्दीका कारण नेपाल महिला संघ डडेल्धुराको अधिवेशनबाट निर्वाचित अध्यक्ष कमला बिष्टलाई यसअघि नेपाल महिला संघ केन्द्रीय समितिले सधारण सदस्यबाट निष्कासन गर्दै तत्कालीन उपाध्यक्ष कलावती बोहोरालाई संयोजक तोकेर ६ महिनाभित्र जिल्ला अधिवेशन गर्न निर्देशन दिएको थियो। 

संयोजक बोहराको नेतृत्वमा कांग्रेस डडेल्धुराको कार्यालयमा प्रवेश गरेका महिला नेतृहरूसँग विष्टको भनाभन भएपछि नेपाली कांग्रेसबाट समानुपातिक सुदूरपश्चिम प्रदेशसभाका सदस्य गोविन्दराज बोहरा, पार्टीका महाधिवेशन प्रतिनिधि तथा परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साँउद, नेपाल महिला संघकी नेतृ तथा परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराले कार्यालय सचिव विष्टलाई कारबाही गरिपाऊँ भनी पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए।

सो उजुरीका आधारमा अनुशासन समितिले माग गरेबमोजिम दुईपटक लिखित स्पष्टीकरण पेश गरिसकेको कार्यालय सचिव विष्टले बताए। कार्यालय सचिव विष्टमाथि पार्टीको गुटबन्दीका कारण कारबाही गरिएको भन्दै नेपाली कांग्रेस डडेल्धुरा सम्वद्ध नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत आक्रोश व्‍यक्त गर्दै तत्काल कारबाही फिर्ता हुनुपर्ने माग गरेका छन्। 

महिला संघ डडेल्धुराको अधिवेशन उद्घाटन गर्न पुगेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा र नेपाली कांग्रेस डडेल्धुराका जिल्लास्तरीय केही नेताहरूबीच अधिवेशनका क्रममा विवाद उत्पन्न भएपछि डा. राणाको निर्देशनमा निर्वाचित अध्यक्ष कमला विष्टलाई महिला संघको सधारण सदस्यताबाट निष्कासन गरिएको थियो। 

निष्कासन गरेकोमा धन्यवाद

यसैबीच, नेपाल महिला संघ डडेल्धुराले विष्टलाई निष्कासन गर्ने निर्णयको स्वागत गरेको छ। संघकी संयोजक कलावतिदेवी बोहराले एक विज्ञप्ति जारी गर्दै विष्टलाई केन्द्रीय अनुशासन समितिले पार्टीबाट निष्कासन गरेको भन्दै विषेश धन्यवाद दिएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.