|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको दैनिक ग्राफ उकालो लाग्न थालेको छ। शुक्रबार मात्रै यहाँका एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी यहाँका एक सय १३ जनामा कोरोना पुष्टि भएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
धुलिखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यसैगरी शुक्रबार सेती अस्पतालको प्रयोगशालामा कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका २३ जनामध्ये धनगढी उप–महानगरपालिकाका मात्रै १६ जना छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार ८ जना पुरुष र ८ जना महिलामा संक्रमण देखिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ६, ८, ११ र १८ का एक–एक जना, वडा नम्वर ७ का चार जना, वडा नम्बर १२ का तीन जना र वडा नम्बर १४ का पाँच जनामा संक्रमण पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

यस्तै कैलालीको टीकापुर नगरपालिका–६ का तीन जना, वडा नम्बर १, २ ७ र ८ का एक–एक जना कोरोना देखिएको छ। बझाङको मष्टा–१ का २० वर्षीय पुरुष, छब्बिस पाथिभेरा गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका १७ का २५ वर्षीय पुरुषमा कोरोना देखिएको छ।

शुक्रबार ११३ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय २४ पुगेको छ। संक्रमण पुष्टि भएका तीन हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन्। संक्रमितमध्ये यहाँ ९ जनाले ज्यान गुमाएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.