स्वास्थ्य

कडा लक्षणसहितका संक्रमित भेटिन थालेपछि फेरि लकडाउन गर्न सुझाव

सवारी साधनमा जोरविजोर गर्न गृहलाई स्वास्थ्यको पत्र

साउन १६, २०७७

    काठमाडौं : पछिल्लो समय नेपालमा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ।  साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

    लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका  संक्रमितमा कडा लक्षण देखिएर र गम्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: लकडाउन गर्नेसम्मको सुझाव दिन थालेको छ।

     मन्त्रालयले लक्षणसहितका संक्रमित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो। मन्त्रालयले तत्कालै  जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ। त्यस्तै नाकामा कडाइ गर्न पनि भनिएको जनाएको छ। गृहमन्त्रालयले बिहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ। 

    मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार मन्त्रालयले गत साउन ११ गते नै पत्र पठाएर पुन: जोरबिजोर प्रणालीमा यातायातका साधन चलाउन आग्रह गरेको बताएका छन्। ‘हामीले नाकामा कडाइ गर्न र पुन जोर बिजोर गर्न ११ गते नै पत्र पठाइ सकेका छौँ', उनले भने।

    हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन: कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ। लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ। यस्तोमा कोरोना संक्रमण दरसमेत उकालो लागेको भन्दै स्वास्थ्यले फेरि जोरबिजोर प्रणाली लागू गर्न चिठी पठाएको हो।

    उनले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भनिएको बताए। उपत्यका प्रवेश नाकामा गृहमन्त्रालयले आजैदेखि कडाइ गरिसकेको छ। 

    थप समस्या र संक्रमित दुवै बढेर संक्रमण नियन्त्रण बाहिर जाने सम्भावनातिर हालको संक्रमण अघि बढेको स्वास्थ्यको निचोड छ। यस्तो अवस्थामा पुन: एक पटक देशभर कडा लकडाउन गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

    ‘केही दिनयता संक्रमितमा जुन लक्षण देखिएको छ, यसले अब परिस्थिति खतरातिर जान सक्ने देखाएको छ', मन्त्रालयका एक उच्च अधिकारीले भने, 'यस्तो बेलामा अहिलेबाटै सतर्क रहन पुन: एक पटक कडा लकडाउन गर्नु पर्ने अवस्था छ।‘

    आइसियुमा संक्रमित

    लकडाउनपछि भेटिएका संक्रमितमा गम्भीर लक्षण देखिएसँगै उनीहरुलाई आइसियु र भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छ। केही सातअघि पहिलो पटक रौतहटका एक बिरामीको काठमाडौंमा भेन्टिलेटरमै ज्यान गएको थियो।

    तर लकडाउन खुलेसँगै संक्रमण देखिएका बिरामीहरुलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिने अवस्था आएको हो। केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोरङका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। 

    मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी बागमती प्रदेशमा १५ जना संक्रमित आइसियुमा छन्। त्यसपछि प्रदेश नम्बर २ मा ५ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ।

    मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ र कर्णाली प्रदेशमा २ र२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ। पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिएपछि सतर्कता बढाइएको छ। संक्रमितमा लक्षण देखिनु गम्भीर चुनौती हो भने लकडाउन खुलेसँगै संक्रमित बढ्दै जाँदा अवस्था नियन्त्रण बाहिर जान सक्नेतर्फ विज्ञहरुले सचेत गराएका छन्। 

    नेपालमा दुई दिनयता सातजनाले ज्यान गुमाएका छन्। हालसम्म ५६ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको जनाएको छ। जसमध्ये ५ हजार बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ। 

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : sabinakhanal32@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]