मुख्यमन्त्री कार्यालयसम्म पुग्छ कमिसनको रकम !

|

उदयपुर : यातायात व्यवस्था कार्यालयका प्रमुखले खरिद गरेको जेनेरेटर दाखिला गर्न नमानेका खरिदारको सरुवा नै गरिएको छ। यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख सुभाष कार्कीले खरिद गरेको जेनेरेटर प्रक्रिया नपुगेको भनी खरिदार तथा स्टोरकिपर लेखराज कटुवालले असहमति जनाएका थिए। 

लकडाउनका बेला कार्यालय प्रमुख कार्की र सहलेखापाल प्रियादर्शनी थपलियाको मिलेमतोमा पाँच लाख रुपैयाँमा जेनेरेटर खरिद गरिएको थियो। स्टोर किपरलाई खरिद गरिएको सामानबारे जानकारी नभएको र असार ३० गते कार्यालय प्रमुखले स्टोर दाखिला गर्न दबाब दिएका खरिदार कटुवाल बताउँछन्।

खरिद प्रक्रियामा आफू संलग्न नभएकाले कागजात हेरेर मात्र दाखिला गर्ने बताउँदा पनि कार्यालय प्रमुख कार्कीले मुख्यमन्त्रीको कार्यालयमा भनेर अन्यत्र सरुवा गराइदिएको कटुवालको आरोप छ। 

‘सामानको भुक्तानी भइसकेपछि दाखिला गर्न भनेपछि मैले दाखिला नगरेको हो।’ स्टोर किपर कटुवालले भने, ‘माग फारम खरिद आदेश र दाखिला प्रतिवेदन भएपछि मात्र भुक्तानी गर्न मिल्छ, हाम्रो हाकिम सापले त भुक्तानी दिई सकेपछि खरिद आदेश र दाखिला प्रतिवेदन बनाउन लगाउनुभयो ।’  

स्टोर किपर कटुवालले आफूलाई जेनेटर किनेको थाहा नभएको र आफू स्टोरकिपर हुँदाहुँदै पनि आफूलाई थाहा नदिई जेनेटर खरिद गरिएकाले आफूले जेनेटर दाखिला नगरेको बताएका छन्। 

चैत ६ गते जेनेटरको भुक्तानी गरिएको भए पनि प्रमुख कार्कीले असार अन्तिममा कटुवाललाई खरिद डकुमेन्ट तयार गर्न दबाब दिएका थिए। यातायात कार्यालयका स्टोर किपर कटुवालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ को मिति २०७७ साउन १२ गते निर्णयानुसार सरुवा भएको पत्र कार्यालयमा आएको छ । 
मुख्यमन्त्री कार्यालयसम्म पुग्छ कमिसनको रकम !

यसबाट जेनेरेटरको कमिसन मुख्यमन्त्रीको कार्यालयसम्म पुगेकोले हतारमा स्टोरकिपर कटुवालको सरुवा गरिएको हुनसक्ने यातायात कार्यालयकै एक कर्मचारी बताउँछन्। कार्यालय प्रमुख कार्कीले यातायात क्षेत्रको बिचौलिया रुपमा परिचित खेम आचार्यमार्फत यातायात निर्देशनालयका प्रमुख भीम गौतमको पहलमा मुख्यमन्त्री कार्यालयमा दबाब दिई स्टोरकिपर कटुवालको सरुवा गरेको कार्यालयकै ती कर्मचारीले ठोकुवा गरे ।  

बिचौलिया आचार्यले उदयपुरमा सवारी अनुमति पत्र (लाइसेन्स) चाँडै आउने भन्दै उदयपुरमा आफैंले ट्रायल सेन्टरसमेत निर्माणमा लगानी गरेका छन्। आचार्यले सवारी अनुमति पत्र आएपश्चात् राम्रो कमाइ हुने भन्दै यातायात निर्देशनालयमार्फत आफू अनुकूल कर्मचारीहरू समेत सरुवा गर्ने गरेका छन्। 

प्रदेश १ का सबै यातायात कार्यालयमा आफ्नो पहुँच भएको दाबी गर्ने आचार्यले उदयपुरसहित धनकुटा, इलाम, विराटनगरमा समेत आफैंले ट्रायल सेन्टर निर्माण गर्दै आएको स्रोत बताउँछ। 

ट्रायल सेन्टर चलाउन आचार्यले आफू अनुकुलका कर्मचारीहरू सेटिङ मिलाउँदै आएका छन्। यसअघि पनि कार्यालय प्रमुख कार्कीको कार्यालय सञ्चालन क्षमता नभएको भन्दै पटक पटक सेवाग्राहीहरूसँग विवाद हुँदै आएको छ ।

लाइसेन्स नवीकरण लगायतको काम गर्न आएका सेवाग्राहीको समेत कार्यालयमा काम भएको छैन। कार्यालयका अन्य कर्मचारीलाई अफिसको कोड नदिएका कारण एक हप्तायता लाइसेन्स नवीकरण कार्यसमेत ठप्प भएको छ। 

यता कार्यालय प्रमुख कार्कीले भने जेनेटर खरिद प्रक्रियामा आफ्नो कुनै कमजोरी नभएको दाबी गरेका छन्। स्टोरकिपर कटुवालसँग पहिले पनि सामान्य विवाद भएको कारण अन्यत्र सरुवा मागेको तर मुख्यमन्त्री कार्यालयले कटुवालको सरुवा गरिदिएको बताएका छन्। सगरमाथा यातायात व्यवस्था कार्यालय लहानको विकल्पमा स्थापना भएको यो कार्यालय हाल प्रदेश न १ मातहतमा रहेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.