|

डडेल्धुरा : किसान नेता एवं शहीद भीमदत्त पन्तको ६८औँ स्मृति दिवस शनिबार मनाइँदैछ। विविध कार्यक्रम गरी पन्तको सम्झनामा दिवस मनाउन लागिएको हो।

किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साउन १७ मा टाउको काटी हत्या गरिएका थियो। उक्त् दिनेका सम्झनामा शहीद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउँदै आएको छ।

स्मृति दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुरा बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ। यस्तै, दिउँसो १ बजे अन्तरक्रिया र साँझ ७ बजे दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए।

केही वर्ष यतादेखि प्रतिष्ठानले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ। प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि २०७२ फागुन १९ गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो।

को थिए भीमदत्त ?

नेपाली किसान आन्दोलनका शहीद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० मा जन्मिएका हुन्। उनका आमा सरस्वती पन्त र बुवा तारनाथ पन्त हुन्।

भारतको उत्तरप्रदेश सिन्हाईबाट संस्कृतमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक स्वभाव बढायो। सामन्ति संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीमदत्त पन्त नै थिए।

उनले ‘ठालु खान्ना आलु गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात भकारी फोड’ अभियान चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्त्वपूर्ण विद्रोही नाम हो। ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.