|

लमजुङ : बेसीसहर नगरपालिकाका तीनजनामा डेंगु संक्रमण देखिएको छ। वडा नम्बर ३, ८ र ९ का एक/एकजनामा संक्रमण देखिएको जिल्ला सामुदायिक अस्पतालले जनाएको छ।

बिरामी भएर अस्पतालमा आएका तीनैजनामा उपचारको क्रममा डेंगु रोग संक्रमण भेटिएको अस्पतालका प्रमुख डा. हेमन्त श्रेष्ठले जानकारी दिए। यस्तै, केही दिनअघि सोही अस्पतालमा उपचारका लागि आएकी बेसीशहर–७ की एक महिलामा पनि डेंगु संक्रमण देखिएको थियो। 

डेंगुको संक्रमण बढेपछि अघिल्लो वर्ष अस्पतालले डेंगु परीक्षण गर्ने किट ल्याएको थियो। सोही यस वर्ष पनि परीक्षण गरिएको अस्पतालले जनाएको छ। 

एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेँगु संक्रमण हुने गर्दछ। जिल्लाभित्र डेंगुको संक्रमण बढ्दै गएकाले उच्च सर्तकता अपनाउन स्वास्थ्य कार्यालय लमजुङले सर्वसाधरणलाई आग्रह पनि गरेको छ।साउनदेखि कात्तिकसम्म डेंगु संक्रमणको उच्च जोखिम हुने चिकित्सकहरुले बताएका छन्।

डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन। यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय हो।

घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.