|

बागलुङ : बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। पर्यटन प्रवर्द्धनका हिसावले महत्वपूर्ण मानिएको पुल खुल्ला गर्दाकै दिन सर्वसाधारण भीड लागेको थियो।

 यो पुल ‘सिंगल स्पान’को संसारकै लामो पुल भएको दाबी गरिएको छ। नगरपालिकाले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र लेखेर गिनिजबुकमा दर्ता गराउन पहल गरिदिनसमेत आग्रह गरेको छ। बागलुङ नगरपालिका–१ रामरेखादेखि पाङको अदुवाबारी जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएपनि हालसम्म सञ्चालनमा आएको थिएन। लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको हो।

अब दुवै जिल्लाले शुक्रबारदेखि झोलुङ्गे पुलमा ओहोरदोहोर गर्न पाउने गरी सबैका लागि खुल्ला गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। ५ सय ६७ मीटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो।

पुलले एक पटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने गरी क्षमता रहेको छ। यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वतहुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरूलाई समेत यसले आकर्षित गर्नेछ।

६ करोड ९१ लाखमा निर्माण तथा जडान सम्झौता भएको पुलको जम्मा लागत १० करोड रुपैयाँ हो। पुल सञ्चालनमा आए देखि ओहोर दोहोर गर्नेदेखि आसपारसका क्षेत्रमा फोटा खिाचाउनको भीड लागेको छ।

पुल अप्रत्यासित हल्लियो

शुक्रबारदेखि खुला गरिएको लामो पुल पहिलो दिनमै अत्याधिक हल्लिएको छ। लामो भएकोले हल्लिएको अनुमान गरेका स्थानीयले असामान्य भएपछि पुलको डिजाइन तथा लठ्ठा तन्काउने काममा कमजोरी भएको समेत टिप्पणी भएको छ।

‘मैले धेरै अग्ला पुलमा यात्रा गरेको छु, तर यतिको हल्लिएको थिएनन्’ बानपा ३ का कृष्ण अधिकारीले भने, ‘बालबालिका र महिलाले तर्नै नसक्ने भएकोले प्राविधिक त्रुटि भएको हुनुपर्छ।’ शुक्रबार पुल हेर्न गएका मध्ये आधाजसोले तर्न नसकेको गुनासोसमेत थियो।

नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने लामो भएको र पहिलो दिन धेरै मानिसले यात्रा गरेकोले यस्तो भएको हुन सक्ने बताउनुभयो। ‘केही दिन हेरौं, थोरै मानिस हुँदा कति हल्लिन्छ, त्यसपछि प्राविधिकलाई देखाउनु पर्छ’ उहाँले भन्नुभयो, ‘नमूना पुल भएकोले परीक्षणपछि पनि थप काम गर्नुपर्ने हुन सक्छ।’ पुल हल्लिएको बारे सामाजिक संजालमा पनि धेरै टिकाटिप्पणी भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.