|

म्याग्दी : असार २५ गतेको पहिरोबाट अति प्रभावित धवलागिरि गाउँपालिका–६ मराङका विस्थापितका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले मराङका विभिन्न बस्तीमा ५१ वटा आश्रयस्थल (टहरा) निर्माण गरिदिएका छन्। 

पाँच दिनसम्म उनीहरुले पहिरो प्रभावित क्षेत्रमा श्रमशिविर सञ्चालन गरेका हुन्। ६५ परिवारका बसोबासका लागि ५१ वटा पालले छाएको टहरा बनाएका हुन्। बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रीमा १७ वटा टहरा बनाएका राष्ट्रिय युवा संघ म्याग्दीका सहसंयोजक सन्दिप खत्रीले जानकारी दिए।

घण्टीवाङ र रिखका पहिरोपीडित आरवाङ जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थायी शौचालय र सेफ्टी ट्यांकी बनाएका छन्। टहरा बनाउन बाँस र काठ संकलन गर्ने तथा व्यवस्थापनको काम गरेका थिए।

केही त्रिपालले छाइएको छ। जस्तापाताले छाउन मिल्नेगरी टहराको संरचना बनाइएको छ। जस्तापाता ढुवानी भएपछि टहराहरु छाउने तयारीमा रहेका खत्रीले बताए। ४० जना युवा र विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताको टोलीले स्थानीय युवा क्लबसँगको सहकार्यमा पहिरोपीडितको व्यवस्थापनमा सहयोग गरेका राष्ट्रिय युवा संघ म्याग्दीका संयोजक प्रविन शाहीले जानकारी दिए।

गत असार २५ गते राती आएको पहिरोमा परेर पश्चिम म्याग्दीको मराङ र बिममा २८ जनाको मृत्यु र ४ जना बेपत्ता भएका थिए। तीमध्ये मराङ कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्री र रिखमा पहिरोमा १९ जनाको मृत्यु भएको थियो। दुई जना अझै बेपत्ता भएका छन्। 

पहिरोले बगाएर र जोखिममा परेर वडाका धेरै घर विस्थापित भएका छन्। सडक र घोरेटो बाटोसमेत अवरुद्ध बनेकाले जनजीवन कष्टकर बनेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.