|

अमेरिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउची गलत रहेको बताएका छन्। महामारी नियन्त्रणमा लापरवाही गरिएको र स्वास्थ्य सजगता नअपनाएको भन्दै ट्रम्प प्रशासन तथा सरकारी अधिकारीहरुको आलोचना गर्ने गरेका छन्। 

ट्रम्पले व्यापक परीक्षण भइरहेकाले अमेरिकामा धेरै संक्रमित फेला परेको पुरानै तर्क दोहोर्‍याएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, 'यदी कम संख्यामा परीक्षण गरिन्छ भने संक्रमण मामिला पनि घट्नेछ, इटली, फ्रान्स र स्पेनले के गरे?'

शुक्रबार संसदको एक सत्रमा बोल्दै विशेषज्ञ फाउचीले अमेरिकामा कोरोना फैलनुमा लकडाउन नलगाउनु नै प्रमुख कारण रहेको बताएका थिए। उनले भनेका थिए, 'धेरैजसो युरोपेली मुलुकहरुले लकडाउन लगाएर अर्थव्यवस्थाको ९५ प्रतिशत हिस्सा बन्द गरिदिए, तर अमेरिकाले आफ्नो अर्थव्यवस्थाको ५० प्रतिशत हिस्सा मात्रै बन्द गरेको थियो।'

चीनमा कोरोना भाइरसका मामिला देखिनासाथ अमेरिकी राष्ट्रपति ट्रम्पले संवेदनशीलतालाई ख्याल नगरी अट्टाहस गरेका थिए। उनले कोरोना भाइरसलाई 'चिनियाँ भाइरस' समेत भन्न भनेका थिए। यो भाइरसबाट अमेरिकामा सैयौं मानिसको ज्यान जाँदा पनि ट्रम्पले लकडाउन गर्न मानेका थिएनन्‌ भने चुनावी र्‍यालीमा भीड जम्मा गरेका थिए। मास्क लगाउन र स्वास्थ्य सजगता अपनाउन विशेषज्ञहरूले दिएको सल्लाहलाई पनि उनले लत्याएका थिए।

अमेरिका जारी महामारीबाट सबैभन्दा नराम्ररी प्रभावित भएको छ। त्यहाँ हालसम्म ४६ लाख २० हजार १८२ जना कोरोना स‌ंक्रमित भेटिएका छन्‌। एक लाख ५४ हजार ३६० जना संक्रमितले ज्यान गुमाएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.