|

रूसले आगामी अक्टोबरदेखि आफ्ना नागरिकलाई कोरोना प्रतिरोधी खोप दिने योजना बनाएको छ। स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले वृहत खोप अभियान चलाउने जानकारी दिएका छन्। 

पहिलो चरणमा चिकित्सक र शिक्षकलाई कोरोनाविरुद्धको खोप दिइनेछ। कोरोनाविरुद्धको सम्भावित खोप प्रयोग गर्न नियामकले यसै महिना अनुमति दिने बताइएको छ।

तर द्रुत गतिमा र धेरै संख्यामा कोरोना भाइरसविरुद्धको खोप बनाउने रूसको कोसिसमाथि विशेषज्ञहरूले चिन्ता जनाएका छन्। खोप दिनुअघि यससँग जोडिएका सबै परीक्षण गर्न उनीहरुले रूस र चीनसँग आग्रह गरेका छन्।

यतिखेर विश्वका धेरै देशहरूमा कोरोना विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भैरहेको छ। करिब २० स्थानमा बनेका भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ। 

रूसी वैज्ञानिकहरूका अनुसार केही महिनाअघिदेखि नै त्यहाँको गामालेया इन्स्टिच्युटले कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गरेको थियो। सो भ्याक्सिनको नतिजा सकारात्मक आएको बताइएको छ। 

बेलायत, अमेरिका र क्यानडाका सुरक्षा एजेन्सीहरूले रूसको ह्याकिङ समूहहरूमाथि कोरोना भ्याक्सिनको काममा जुटिरहेका संस्थामा साइबर हमला गरी जानकारी चोरेको आरोप लगाएको थियो। तर, बेलायतका लागि रूसी राजदूत आन्द्रेइ केलिनले यस्तो दाबीमा कुनै सत्यतता नरहेको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.