डा. कार्कीलाई बचाउन निको भइसकेकाले गरे दान

|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको ६ महिनामा संक्रमितको संख्या २० हजार नाघेको छ। सुरुवातमा विदेशबाट आएका संक्रमण देखिए पनि पछिल्लो समय स्वदेशमै रहेकाहरूलाई पनि कोरोनाले सताउन थालेको छ। 

लक्षणसहितका संक्रमित देखिन थालेपछि संक्रमितहरुलाई धमाधम आइसियुको आवश्यक्ता परी आइसियुमा जान थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म बागमती प्रदेशमा मात्रै १५ जना संक्रमित आइसियुमा उपचाररत छन् संक्रमितहरुमा निमोनिया तथा अन्य खालका जटिल समस्या देखिएर  आइसियुमा पुग्‍ने गरी गम्भीर हुन थालेपछि उपचारको नयाँ तरिका पनि सुरु भएको छ।

कार्कीलाई प्लाज्मा

कोरोना संक्रमण देखिएर शिक्षण अस्पतालको आइसियुमा उपचाररत एकजना बिरामीमा निमोनिया भएर गम्भीर समस्या भएको थियो। शिक्षण अस्पतालको आइसियुमा उपचाररत विराट नर्सिङ होम, विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो। 

काठमाडौं ल्याएर आइसियुमा राखेर उपचार गर्दा समेत स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरुले उनलाई यसअघि कोरोना संक्रमित भएर उपचारपछि ठीक भएका व्यक्तिको रगतको प्लाज्मा दिएका छन्।

संक्रमणले निकै जटिल अवस्थामा पुगेका कार्कीलाई बचाउन प्लाज्मा दिइएको हो। कार्कीलाई केही समयअघि विदेशबाट आउँदा कोरोना आइसोलेसनमा उपचारपछि ठिक भएका व्यक्तिले प्लाज्मा दिएपछि उनी खतरामुक्त भएका छन्। 

कोरोना संक्रमणबाट फोक्सो जटिल समस्या देखिएका उनलाई भेन्टिलेटरमा राखेर ९० प्रतिशत अक्सिजन दिनुपरेको त्रिवि शिक्षण अस्पताल कोभिड-१९ नियन्त्रण समन्वय समितिका संयोजक प्रा.डा. शान्तकुमार दासले बताए।

प्लाज्मा थेरापी गरिएपछि तीन दिनमै अक्सिजनको मात्रा घटाएर २४ प्रतिशतमा झारिएको छ। कार्कीलाई अब सामान्य बेडमा सार्ने तयारी भइरहेको डा. दासले बताए। यो पद्धतिबाट नेपालमा कोरोना संक्रमितको पहिलो पटक उपचार गरिएको हो। 

त्रिवि शिक्षण अस्पताल कोभिड-१९ नियन्त्रण समन्वय समितिका संयोजक दासले प्लाज्मा दिएपछि हाल उनको अवस्था खतरामुक्त भएको बताए। 'प्लाज्मा दिएपछि उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ। हाल उहाँ खतरा मुक्त हुनुहुन्छ।'

तर उनलाई प्लाज्मा दिने व्यक्तिबारे दासले केही बताउन चाहेनन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका कार्कीलाई निमोनिया देखिएपछि थप ‘अब्जरभेसन’का लागि अघिल्लो शनिबार हेलिकोप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापीबारे एउटा धारणा छ, कोभिड-१९ संक्रमणबाट बिरामी निको हुँदा उनीहरुको शरीरमा संक्रमणलाई रोक्न सक्ने प्रतिरोधात्मक एन्टिबडी बन्छ। जसको मद्दतबाट कोभिड-१९ का संक्रमितको  रगतमा भएको भाइरस नष्ट गर्न सकिन्छ। संक्रमणसम्बन्धी रोगमा पहिलेदेखि नै प्लाज्मा थेरापीबाट उपचार हुँदै आएको छ।

कोरोनाविरुद्ध लड्नका लागि मानव शरीरले प्रतिरोधी क्षमता विकास गर्न कम्ती १० देखि १४ दिन लाग्ने गर्छ। यदि सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी विधि अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ।

प्लाज्मा थेरापीको माध्यमबाट रगतबाट उक्त इम्युनोग्लोबुलिनलाई हटाइन्छ। कुनै भाइरसको संक्रमणका कारण शरीरमा एन्टिबडीले काम गर्न असमर्थ हुँदा वा रोगबाट निको हुने सम्भावना कम भएमा प्लाज्मा थेरापीको विधि अपनाइन्छ।

कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुले पनि आवश्यक परेमा आफ्नो प्लाज्मा दान गर्ने बताउँदै आएका छन्। तीमध्ये एक हुन्, नेपालको दोस्रो कोरोना भाइरस संक्रमित भई निको भएकी प्रसिद्धि श्रेष्ठ। उनले निको भएपछि कोरोनाविरुद्ध लड्न आफ्नो प्लाज्मा दान गर्न तयार रहेको बताएकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.