काम गुमेपछि वादकहरू संकट झेल्दै

|

काठमाडौं : सविन घिसिङ​ लकडाउन अघि पर्यटकीय क्षेत्र दरबारमार्ग र ठमेलमा बाँसुरी घन्काउथे। उनले बाँसुरीबाट निकाल्ने कर्णप्रिय धुन सुनेपछि विदेशी पर्यटकहरू मख्ख पार्थे। बाँसुरीको धुनमा कहिले पर्यटक नचाउँथे त कहिले नेपाली कला-संस्कृति झल्कनेगरी प्रस्तुती दिन्थे। पर्यटकहरू खुशी हुन्थे र उनलाई पैसा दिन्थे। बाँसुरी नै उनको जीवन जिउने आधार बनेको थियो। 

तर, अहिले सविनलाई गाह्रो परेको छ। कोरोना (कोभिड-१९) महामारीका कारण पर्यटकीय लगायत सबै क्षेत्र प्रभावित भएपछि सविनसँग यतिखेर न काम छ, न दाम! लकडाउनयता उनी एकपटक पनि दरबारमार्ग या ठमेल पुगेका छैनन्‌। काम नै नभएपछि पुगुन्‌ पनि किन!

लकडाउन अघिका दिन सम्झँदै सविन भन्छन्‌, ‘पहिले सातामा तीनवटा कार्यक्रममा बाँसुरी बजाउथेँ, महामारी सुरू भएपछि त त्यो निकै अघिको विगतजस्तो लाग्न थालेको छ, अब त विदेशी पर्यटकहरुले हामीलाई बिर्सिसके होलान्, कोरोनाले हाम्रो काम र समयको धुन एकैसाथ खोसिदियो‌।’

सर्लाही घर भई बौद्ध, नयाँ बस्तीमा बस्ने सविनको दिनचर्या हुँदैनथ्यो, रातीचर्यामा बाँसुरी बजाएर कमाएको रकमले खर्च चल्थ्यो। यतिखेर उनलाई भेट्दा अनुहारमा उदासी भेटिन्छ। भन्छन्‌, 'यस्तो बेलामा काम पाउने कुरै भएन, काम नभएपछि दाम पनि छैन, सीप भएर पनि महामारीका कारण सकसमा परियो।'

सविनको पेशा नै बाँसुरी बजाउने हो। महामारीले पेशामा पारेको असरबारे कुरा गर्दा मलिन स्वरमा सुस्काउँदै उनले भने, ‘बाँसुरीवादन नै मेरो आम्दानीको स्रोत हो, बाँसुरी नबजाएको पाँच महिना भएछ, बाआमा बुढा-बुढी हुनुभयो, कमाउन सक्नुहुन्न, अहिले काम पनि छैन, एक सुको पनि कमाउन सकेको छैन, छाक टार्न र आर्थिक जोहो गर्नै गाह्रो परिसक्यो।'

ठमेल र दरबारमार्ग यसैपनि काठमाडौंमा रात्रिजीवनको केन्द्र हो। सोही क्षेत्रमा मध्यरातसम्म बाँसुरी बजाउँदा सविनले सातामा तीन हजार रुपैयाँसम्म कमाउने हुन्‌। उनकै अनुभवमा अब त्यो रात्रिजीवन र कमाई विगत भइसकेको छ। फर्कन त फेरि फर्किएला, तर महामारी अन्त्य हुनुपर्छ। अन्त्य भएपनि मानिसहरूको रहनसहन नै बदलिने अवस्था आयो र रात्रिजीवनमा शहरले सामूहिक मनोरञ्‍जन गर्न छाड्यो भने उनको पेशा यसै-त्यसै गुम्छ नै! 

पर्यटन र मनोरञ्‍जन क्षेत्रमा लागेका अधिकांशलाई अहिले समस्या परिरहेको छ। व्यवस्था मिलाउन सकेका र सक्नेहरूलाई त न महामारीले अत्याएको छ, न भोकैभोकै पारेको छ। तर, सविनजस्तै दिनरात एकोहोरो मेहनत गरेर जीवन धानिरहेकाहरूलाई यसले निकै अत्याएको छ। त्यसैले त, दरबारमार्ग र ठमेलमा रमाउने सविन भन्छन्‌, 'सरकारले स्कुल खोलेपनि बाँसुरी बजाउन सिकाएर जीवन धान्न सकिन्थ्यो।'

सविनले बाँसुरी बजाउन थालेको तीन वर्ष भैसकेको छ। स्कुलका सिनियर दाईहरूले बाँसुरी बजाएको देखेका सविन आफैँले पनि अन्तत: बाँसुरीवादनलाई नै जीवन जिउने आधार बनाएका हुन्‌।

​गीत/संगीत र वाद्यवाधनमा लाग्नेहरूले विभिन्न 'ब्याण्ड' बनाउँछन्‌। सविन पनि 'शीर्षक' नाम गरेको ब्याण्डमा आवद्ध छन्‌। चार जनाको समूह छ। बाँसुरीवादनमै उनले डिप्लोमा इन म्युजिक पढिरहेका छन्‌। 

बाँसुरीवादक प्रकाश रसाइली पनि यतिखेर सविनजस्तै अफ्ठ्यारोमा छन्‌। रामेछापका वनपाखामा बाँसुरी घन्काउँदै काठमाडौंलाई मधुर धुनमा मोहित पार्न आएका उनी यतिखेर घरमै बसिरहेका छन्‌। आरुबारीबाट साविकमा काम हुने गरेको ठाउँसम्म उनी नआएको महिनौं भइसक्यो। कारण उही कोरोना महामारी नै हो।

प्रकाशले पनि बाँसुरी बजाएर हप्ताको चार हजार रुपैयाँसम्म कमाई गर्थे। आफ्नो दैनिक खर्च त चलेको थियो नै, साथै घरखर्च पनि पठाउन सकिरहेका थिए। तर अहिले घरमै बसिरहेका छन्‌। पहिले आफूले बजाएको बाँसुरीको धुनमा मुग्ध भएका मानिसहरू सम्झनु र भविष्यबारे चिन्ता गर्दै समय कटाइरहेका छन्‌।

​उनी भन्छन्‌, 'काम खोसियो, अब खान-लगाउनै समस्या पर्न थालेको छ, जिन्दगी त जसरी पनि अघि बढिहाल्छ, तर मैले पहिले झैं बाँसुरीबाट धुन निकाल्न सकौंला/नसकौंला र सोही पेसामा रमाउन पाइएला/नपाइएला भन्ने प्रश्नले सताइरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.