|

काठमाडाैं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई मैदान उपलब्ध गराउने घोषणा गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे बोलेका हुन्। 

एन्फाले सूचना दिए काठमाडौं उपत्यकाभित्र वा नजिकै कुनै पनि ठाउँमा खेल मैदान उपलब्ध गराउने उनले बताए। फुटबलको विकास कसरी गर्ने भन्ने कुरामा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा सिलवालले जोड दिए। 

खेलाडीसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सघाउने प्रतिबद्धता जनाए। खेलाडी क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रो टुर्नामेन्टको जरुरत रहेको भन्दै त्यसका लागि काम गर्नु नै अहिलेको आवस्यकता रहेको उनले बताए। 

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबललाई व्यवसायिक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताए।उनले राष्ट्रिय खेलकुद परिषदमार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरे। सरकारले कम्तीमा पनि तीनदेखि चार वर्षलाई लगानी गरेमा नेपालको फुटबल व्यवसायिक रुपमा अगाडि बढ्न सक्षम बन्ने उनले बताए।

लिगलाई तीन महिनाभन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारको लगानी हुनुपर्ने उनले बताए। अहिले कतिपय ‘ए’ डिभिजन क्लबका आफ्नै खेल मैदान नभएकाले राखेपले उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको शेर्पाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.