|

काठमाडाैं : तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानुन बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन्। 

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्मकैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन्। 

कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको र अरुको जीवन बर्बाद पार्नेगरी आक्रमण गर्नेहरुलाई सामान्य दण्ड सजायले नपुग्ने भन्दै कडा कानून बनाउन माग गरेका हुन्। एसिड आक्रमणबाट पीडित जेनी खडकाले कानुनमा दण्ड सजायको व्यवस्था कम हुँदा आक्रमणको घटना नरोकिएको बताइन्। 

कमजोर कानून देख्दा आफुलाई अदालत जान समेत मन नलागेको उल्लेख गर्दै सामान्य कानुनबाट न्याय नपाएकाले आक्रमण गर्नेहरुलाई पनि एसिडको बदला एसिडबाटै कारबाही गर्ने व्यवस्था माग गरिन्। 

‘कानुन पढ्दा दुई वटा कानुन के थियो भने एक त ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय त्यो पनि अनुहार नै कुरुप भएको छ भने अरु शरीरको कुनै अर्थ नै छैन। मेरो त हातभरि छ घाँटीभरि छ, अनुहार त मेरो बचेको छ त्यो मेरो लक्कीले बचेको हो। जहाँ परे पनि आखिर पीडा त उस्तै नै हो,’ उनले पीडा सुनाइन्। 

क्षतिपूर्ति पनि एक लाखदेखि ५ लाख सम्मको भएको र क्षतिपूर्ति नचाइने तर सरकारले यसको पूरै जिम्मा लिनुपर्ने उनले बताइन्। बदलाको भावना बदलाबाटै हुँदा एक जना पनि महिलामाथि आक्रमण नहुने उनले बताइन्।

एसिड आक्रमणबाट पीडित मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्मकैद हुनुपर्ने माग गरिन्।

८ वर्षसम्म कैद सजाय हुने भए पनि दिनरात गणना गर्दा चार वर्षमै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको बताइन्। उनले भनिन्, ‘अपराधीलाई जन्म कैद हुनप¥यो। हाम्रो यो दाग कहिले पनि जाँदैन। यो दाग हाम्रो जीवनभरिका लागि नै बस्छ। त्यसैले म भन्न चाहन्छु अपराधीलाई जन्म कैद नै हुनुपर्छ।’

त्यस्तै अर्की एसिड आक्रमण पीडित संगीता मगरले सजाय कम हुँदा प्रतिशोध लिने काम बढेको बताइन्। उनले भनिन्, ‘अरुको जीवन बर्बाद गरेपछि पनि आठ दश वर्ष मात्रै कैद सजाय भोगेर बाहिरिन पाइन्छ भने एसिड प्रहार किन नगर्ने भन्ने सोच आएकाले घटना बढेका हुन्।’ 

मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरुप हुनेगरी आक्रमण गर्नेहरुलाई ५ देखि ८ वर्ष सम्मको कैद र एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा पीडा पु¥याएमा तीन वर्ष देखि ५ वर्ष सम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँ सम्म जरिवानाको व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.