होली वाइनको मात चढेको भन्दै चर्को आलोचना

|

कैलाली : अनेरास्वियूका केन्द्रीय संयोजक ऐन महरले जनैलाई जातीय विभेदको संज्ञा दिएका छन्। महरले सोमबार जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा आफ्नो फेसबुक पोस्टमार्फत जनैलाई जातीय विभेदको प्रतीक भनेका हुन्। महरले उक्त पोस्ट गरेसँगै सामाजिक सञ्जालमा जनैका विषयमा विभिन्‍न टीकाटिप्पणी र बहस हुन थालेका छन्। 

महरले जनैलाई जातीय विभेदको प्रतीक भन्दै यस विषयमा समीक्षा र बहस गर्नु जरुरी रहेको उल्लेख गरे। ‘जनै जातीय विभेदको प्रतीक हो, यसको शुभकामनाभन्दा नि समीक्षा गर्नु उपयुक्त हुन्छ’  संयोजक महरले राखेको यो फेसबुक पोस्टमा उनको व्यापक आलोचना भयो। हिन्दु संस्कारमै हुर्किएका महरले धर्म विरोधी कुराले उनका समर्थक र शुभचिन्तकलाई भने पीडा भएको छ। 

महरको उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै मोहन कुमार बोहराले लेखेका छन्। ‘मोनार्की युगमा सुप्रिम पावरको लागि धर्मको नाममा गरिएको एक प्रपन्चमय डाइभर्ट हो। यसमा वैज्ञानिक कुनै कारण देख्दिनँ। तर इच्छाअनुसार जसको जे चिन्तन छ, गर्न पाइयो। यसमा निषेधित भन्ने हुँदैन।’ बोहराले जनै निषेध गर्न कुनै वैज्ञानिक कारण नभएको र आ-आफ्नो इच्छाअनुसार चिन्तन र बहस गर्न सकिने प्रतिक्रिया दिए। 

उनको उक्त पोस्टमा समर्थन भन्दा पनि आलोचनाको ओइरो लाग्यो। महरका एकदमै नजिकका समर्थकहरूले पनि उनलाई जात धर्मविरोधी कुरा नगर्न भन्दै सुझाए। संयोजक महरलाई सुझाव दिँदै रोशन दाहालले लेखे, ‘ऐन कमरेड यस्तो कुराले तपाईंको राजनीति उचाइमा स्खलन आउँछ। हाम्रो जनैले कसैको भाग खोसेको छैन कमरेड।'

त्यही पोस्टमा संयोजक महरलाई प्रश्न गर्दै आरके लामिछाने लेखे... कामरेड, मैले लगाएको जनै तपाईलाई जातीयताकै प्रतीक लाग्न सक्छ, पुरातनवादी सोच लाग्न सक्छ, के जाति व्यवस्थाको आधार मैले लगाएको निर्जीव जनै हो कामरेड ? उनले जातीय विभेदको प्रतीक निर्जीव जनै नभएको प्रतिक्रिया जनाए। बरु संयोजक महरको सोचाइमा जातीयवादको मिसिएको भन्दै आलोचना गरे। 

संयोजक महरले सुरु गरेको जनै बहस यतिमै सकिएन। उनले अर्को पोस्ट राखे। साथीहरु मार्क्सवादी बनौँ जातिवादी होइन। मैले कुनै जात र धर्म विशेषको विरोध र समर्थन गरेको छैन। सबै जात र धर्मप्रति मेरो उच्च सम्मान छ।

धर्म र जात भित्र रहेका सकारात्मक पक्षलाई ओझेलमा पारेर केही अतिवादी जातिवादी र धर्मवादीहरुले यसप्रतिको आस्थालाई कमजोर बनाउँदै लगेका छन्। त्यसैले सबै जात र धर्मको उच्च सम्मान गर्दै नश्लीय जातिवादको घोर विरोध गर्दछु। साथीहरु आजभन्दा धेरै वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा कति प्रगतिशील हुनुहुँदो रहेछ। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।  

महरको दोस्रो यो पोस्टमा पनि उनका समर्थकले आक्रोश पोख्न थाले। कतिपयले त होली वाइनको मात चढेको सम्म पनि भन्‍न भ्याए। विष्णुप्रसाद भुसालले जनै प्रतिको टिप्पणी खेदजनक भएको पतिक्रिया जनाए।

यस्तै सन्देश पाण्डेले हिन्दु संस्कृति र संस्कार लोप हुने भन्दै जनैमा जातीयता नमिसिएको सुझाए। तर संयोजक महरले भने जनैलाई जातीय विभेदको संज्ञा दिइरहे र अर्को पोस्ट पनि गरे। तर उनका समर्थकले जनै प्रतिको टिप्पणीलाई लाई लिएर उनको आलोचना गरि रहे। 

के हो जनै ? के छ जनैको महत्व? 

हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनि खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र सँस्कारमध्ये एक उपनयन वा ब्रतबन्ध गर्दा वैदिक मन्त्रका साथ गुरुले जनै पहिर्या‍इदिने प्रचलन रहेको छ। जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाइन्छ,
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।

​अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए। त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु, तपाईंको रक्षा होस्। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन्।

नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ। चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ। यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। 

जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन्। यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन्। त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मा सूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ।

जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अतः जनै धारण गर्ने व्यक्तिको लागी अन्य व्यक्तिालाई जनैले धेरै कुराहरूको जानकारी दिइरहेको हुन्छ।

जस्तै : (जनै धारण गरेको व्यक्ति हिन्दू हो भन्‍ने जनाउने गर्छ, दिशा पिसाब गरेर हात मुख न धोउञ्जेलसम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्ड्याएको देखिएमा यो व्यक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ, जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्व अनुसारको गाँठो दिइन्छ यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वको जानकारी जनैले दिन्छ। 

यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणिक कालमा सुनको बनाउने गरिन्थ्यो कालान्तरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। शुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी (ब्राम्हणको पत्नी) ले कातेको धागोको जनै बनाएर जनै पूर्णिमाको दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ।

जनै र ब्रतबन्ध

हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ। धार्मिक शास्त्रअनुसार, मन मस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभिसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्र पाठ आदि गरी ब्राम्हणले जनै लगाइदिन्छन्। यो डोरीले शरीरमा रहेका रोमकूप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभिको बाहिरी भागलाई स्पर्श गर्छ।

शरीरलाई ऊर्जा शक्ति र रक्तसञ्चारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालिएको हो। शास्त्रअनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ। यसको अर्को काम मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील बनाउने पनि रहेको छ। नकारात्मक भावना र ऊर्जालाई निस्तेज बनाउने जनै प्रयोग गर्दा मन, बुद्धि, चित्त स्वस्थ रहने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.