|
फाइल फोटो

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम नेपालमा पनि दिनदिनै बढिरहेको छ। कोरोनाको जोखिमकै बेलामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीको महाधिवेशन गर्न कस्सिएको छ। महाधिवेशन आगामी फागुन ७ लाई तोकिएको छ। महाधिवेशनमा नेताहरूलाई आफ्नो पक्षमा पार्न गुटका नेतृत्व गर्ने विशेष गरी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल निकै कसरत गरिरहेका छन्। १३ औँ महाधिवेशनमा आफ्नो पक्षका नेतालाई व्यवस्थापन गर्न नसकेर चुनाव हारेको निष्कर्ष निकालेको पौडेल समूह यसपटक नयाँ रणनीति बनाएर जाने योजना बनाइरहेको छ। 

केही हप्तायता कांग्रेसका शीर्ष नेताको निवास, सचिवालय र पार्टी कार्यालयमा नेता/कार्यकर्ताको भिड नै लागेको थियो। भिडभाड बढेपछि कोरोना संक्रमणको जोखिम उच्च हुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको सचिवालयले सूचना नै जारी गरेको छ।

 ‘हामी नेपालीहरुले कोरोना भाइरसको आक्रमणबाट बच्न सर्वप्रथम सामाजिक दूरी कायम गरी अनिवार्य मास्कको प्रयोग गर्ने र साबुनपानीले हात धुनु नै हो,’ वरिष्ठ नेता पौडेलको सचिवालय जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेपाली कांग्रेसका वरिष्ठ नेता आदरणीय रामचन्द्र पौडेलज्यूको अत्यावश्यकबाहेक भेटघाट कार्यक्रम केही समयको लागि बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’ पौडेलको सचिवालयले टेलिफोन र भर्चुअल बैठकबाट नियमित सम्पर्क जारी रहने पनि जनाएको छ। 

यता, सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता पौडेलको जसरी भेटघाट कम नगरे पनि सामाजिक दूरी कायम गर्न अनिवार्य गरेका छन्। ‘भेट्नलाई नेता कार्यकर्ता आइरहनु भएकै छ,’ देउवाका सहयोगी भानु देउवाले भने, ‘तर, भेट्न आउनेले सामाजिक दूरी पालना र मास्क लगाउन अनिवार्य चाहिँ पर्छ।’ त्यस्तै कांग्रेसका महामन्त्री शशांक कोइरालाले पनि भेटघाट कम र भेटघाटमा आउनेसँग सामाजिक दूरी कायम गर्ने गरेको छ। १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने तयारी गरिरहेका कोइराला निवासमा केही दिन यता भेटघाट पातलिएको छ। 

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि अरूसँगको भेटघाट पातलो बनाएका छन्। सभापति लड्ने तयारीका साथ नेता तथा कार्यकर्तासँग भेटघाट बढाएका निधिले पनि कोरोना संक्रमणको जोखिमका कारण भेटघाटलाई पातलो बनाएका हुन्। त्यस्तै कांग्रेसमा तेस्रो गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला पनि हिजो सोमबारदेखि अरू दिनको भन्दा कम भेटघाटमा सहभागी हुने गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.