काठमाण्डौं : आमालाई कोरोना सङ्क्रमण भए पनि शिशुलाई दूध चुसाउन सरकारले आग्रह गरेको छ।
आमालाई कोरोना सङ्क्रमण भएमा पनि दूध चुसाउँदा शिशुलाई कोरोना सर्ने कुरा प्रमाणित नभएकोले शिशुलाई दूध खुवाउँदा समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
तर सङ्क्रमित आमाले मास्क लगाउनुपर्ने तथा शिशुलाई दूध चुसाउनुअघि साबुन पानीले राम्रोसँग हात मिचिमिची धुनुपर्ने र दूध चुसाउनुअघि दूधको मुन्टालाई राम्रोसँग सफा गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिए।
यदि सङ्क्रमित आमाको अवस्था गम्भीर भएर दूध चुसाउन नसकेमा परिवारका सदस्यले आमाको दूध निचोरेर सफा भाँडामा राखी खुवाउन पनि उनले आग्रह गरे। शिशुका लागि आमाको दूध उत्तम आहार हो, यसले शिशुमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै सबै किसिमका पोषण तत्व प्राप्त हुन्छ।
विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमित आमाले शिशुलाई दूध चुसाउँदा सङ्क्रमणको जोखिम हुने भन्दा फाइदा धेरै भएको बताएको छ। हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता विश्व स्तन पान दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।