|

दाङ : जिल्लाका १० स्थानीय तहमध्ये पहिरोको उच्च जोखिममा बंगलाचुली गाउँपालिका पर्छ। केही दिनअघि पहिरोमा पुरिएर वडा नम्बर ५ साकिनेमा आमा छोरीको ज्यान गएको थियो। 

गाउँपालिकामा अहिले दर्जनौं घर पहिरोको कारण उच्च जोखिममा रहेका छन्। वडा नं. ७ मा ३० वटा घरहरु पहिरोको उच्च जोमिखमा रहेका गाउँपालिकाले जनाएको छ। तीमध्ये केही घरको जमिन भासिएको, पहिरो आउँदा भत्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब  बहादुर वलीले जानकारी दिए। 

पहिरोको जोखिम क्षेत्रमा घर बनाएका र जमिन कमजोर भएकाले उक्त क्षेत्र जोखिममा रहेको उनले बताए। त्यसैगरी त्यहाँका नागरिकलाई विद्यालय वा अन्यत्र सुरक्षित स्थानमा बसाउने व्यवस्था भइरहेको समेत अधिकृत वलीले बताए। पहिरोको कारण अहिले १४ घरमा प्रत्यक्ष असर परेको छ।

अविरल वर्षाका कारण जमिन भासिँदा घर भत्किने र पहिरो जाँदा ढावको सिंगो गाउँ नै उच्च जोखिममा रहेको उनले बताए। विस्थापित परिवारलाई राहत, उचित बासको व्यवस्थापनका लागि गाउँपालिकाको तर्फबाट लागत संकलन तथा अन्य कामको थालनी भइरहेको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए। 

ढावको पहिरोपीडित परिवारका लागि आफूहरुले माथिल्लो निकायमा पहल गर्ने उनले आश्वासन दिए। उनका अनुसार अहिले ढावको सिङ्गो गाउँलाई नै सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने अवस्था रहेको उनले बताए। यसैबीच ढावको पहिरो पीडितलाई गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाको साझेदारीमा विभिन्न राहत सामग्री हस्तान्तरण गरिएको अधिकृत वलीले जानकारी दिए। 

गाउँपालिका अध्यक्ष र रेडक्रस कमिरेचौर उपशाखा सभापति चूणामणि नेपालीले पहिरो स्थल ढावमा पुगेर राहात सामग्री वितरण गरेका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.