'रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्नु'

|

काठमाडौं : कक्षा–११ को अध्ययनको प्रतिक्षामा बसेकी आसमा पोख्रेल ज्ञानोदय माध्यमिक विद्यालय, बाफलकी छात्रा हुन्। आज उक्त विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा विद्यालयका सबै छात्रा सहभागी थिए। सहभागी मध्येकी पोख्रेल पनि एक थिइन्। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको शुभारम्भ गर्दैगर्दा पोख्रेलको मुहारमा खुशीको भाव नाचिरहेको प्रस्ट देखिन्थ्यो।

त्यसो त काठमाडौं महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गर्दा त्यहाँ उपस्थित सबै छात्रा र महिलाले निकै बेर ताली बजाए र खुशी साटासाट गरे।

कार्यक्रममा सहभागी पोख्रेललाई ‘विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ भैरहदाँ कस्तो महशुस भएको छ ?’ भनी प्रश्न गर्दा उनले कक्षा–कक्षामा स्यानिटरी प्याड वितरण गर्ने सरकारको कार्यको खुलेर प्रशंसा गरिन्।

‘रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ उनले भनिन्, ‘विद्यालयमा पुगेपछि मासिक स्राव हुँदा प्‍याडको अभावमा धेरै पटक विद्यालय नै छाडेर घर फर्किनु परेको तितो अनुभव छ। अब यो सकारात्मक प्रयासले त्यस्तो बाध्यताको अन्त्य हुने र छात्राहरुलाई सहज हुने अपेक्षा गरेका छौँ ।’ पोख्रेलको जस्तै अनुभव छ, श्रृशा रावलको पनि ।

‘विद्यालय मै यसरी निशुल्क प्याड वितरणको व्यवस्था हुनु सबै छात्राका लागि खुशीको कुरा हो,’ रावलले भनिन्, ‘महिनावारीकै कारण विद्यालय आउन अप्ठयारो हुने, रजस्वला हुँदा विद्यालय नै अनुपस्थित हुनुपर्ने बाध्यता थिए । अब त्यसको अन्त्य भएको छ ।’

रजस्वला हुँदा हीनताबोध महशुस गर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने उनले अपेक्षा गरिन् । ‘निशुल्क प्याड वितरणपछि सबै छात्राहरुमा नियमित विद्यालय आउने र अध्ययन गर्ने परम्पराको थालनी हुनेसमेत अपेक्षा गरेका छौँ,’ उनले भनिन्।

कार्यक्रममै सहभागी खुशी जोशीले पनि विद्यालयमा निशुल्क प्याड वितरण गर्ने कुरा सकारात्मक भएको भन्दै खुशी व्यक्त गरिन्। ‘ज्ञानोदय विद्यालयमा यसरी निशुल्क स्यानिटरी प्याड वितरण गर्ने कुराले म मात्रै होइन रजस्वलाको समय भएका र रजस्वला भैरहेका सबै छात्राले खुशीको महशुस गरेका छन्,’ उनले भनिन्, ‘पहिलाको अवस्था हेर्ने हो भने रजस्वलाको समयमा शिक्षकहरूसँग खुलेर कुरा गर्न सक्ने अवस्था थिएन। अहिले ठाउँ–ठाउँमा मेसिन हरु राखिएको छ। अब रजस्वला भयो भन्दै हीनताबोधसहित शिक्षकसँग विदा माग्नु पर्ने अवस्थाको समेत अन्त्य भएको छ ।’

उनले यस्तो व्यवस्था दुर्गमका विद्यालयमा समेत हुनुपर्ने सुझाव दिइन् ।

'रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्न'

प्रमुख शाक्यले कार्यक्रमलाई सम्बाेधन गर्दै रजस्वला भएका महिलालाई विभेद गर्न नहुने बताए।

‘हरेक घरमा महिला छन्। महिला नभएको घर हुँदैन। उनीहरुलाई हेर्ने दृष्टिकोण अनि बुझ्ने र बुझाउनेमा फरक छ,’ उनले उदाहरण दिँदै गर्दै भने, ‘घरमा कोही रजस्वला हुँदा उनीहरु कमजोर हुन्छन्। त्यो बेलामा उनीहरुको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने सकारात्मक पाटो हो । तर, चार दिन मेरो काम गर्ने पालो, उसले छोएको खानु हुँदैन भन्ने जस्ता विभेदपूर्ण व्यवहार पनि हुने गरेका छन् । यसलाई परिवर्तन गर्नुको अर्को विकल्प छैन।’

 उनले पहिलादेखि चलिआएको चलन हो भन्दै विकृति र विसंगतिलाई छाडिरहने हो भने पुस्तासम्म यस्तै परम्परा रहिरहने बताए। ‘यस्तो परम्पराको अन्त्य नगर्ने हो भने झन जरा गाडेर बस्छ र समाजलाई अघि बढ्न दिदैँन,’ उहाँले भने, ‘समाज परिवर्तन गर्ने हामी सबैको दायित्व हो। समाज परिवर्तनका लागि अठोट पनि चाहिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.