बाँकेमा एटिएमबाहेक अरू सेवा ठप्‍प

|

काठमाडौं :  कोरोनाको प्रभाव देशभर परिरहँदा विज्ञहरूले पुन: लकडाउन गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन्। हाल देशभर करिब २१ हजारको हाराहारीमा संक्रमित भइसकेका छन्।

सरकारले लकडाउन खुलाएपछि अवस्था झन् जटिल बन्दै गएको छ।  मंगलबार विज्ञहरूसँग कोरोना असर र अबको उपायबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग छलफल गरेका थिए। सुरुवातमा भारतलगायत तेस्रो मुलुकबाट आउनेहरूमा संक्रमण देखिने गरेकोमा पछिल्लो समय नेपालमै बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिरहेकाले १५ दिन कडा लकडाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ अपनाउने गरी अगाडि बढ्नुपर्ने विज्ञहरूले सुझाव दिएका थिए।

हाल देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमण उच्च हुँदै जाँदा  देशका विभिन्न जिल्ला र स्थानीय तहहरूमा लकडाउन र  निषेधाज्ञा जारी छ।

धरानमा लकडाउन

कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले बुधबार राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने  निर्णय गरेको छ।

कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए। औषधि पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरू बन्द गर्ने निर्णय भएको काफ्लेको भनाइ छ। 

जनकपुरमा  कडा लकडाउन

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए। निषेधाज्ञापछि जनकपुरधाम सुनसान बनेको छ। सडकमा ठूलो संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन भएका छन्। पसल, कलकारखा, उद्योग र होटलहरूसमेत बन्द छन्।

जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका चार, सामाजिक विकास मन्त्रालयका तीन, प्रादेशिक अस्पतालका दुई डाक्टरसहित १८ जनामा समेत कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको छ।

 सप्तरी पनि लकडाउनमा

जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ।  समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना सङ्क्रमितको सङ्ख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्युसमेत भइसकेको अवस्थामा सजगता अपनाउन, सङ्क्रमणको विस्तार रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको भन्दै कोभिड–१९ को सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको बताए।

बाँकेमा एटिएमबाहेक सबै सेवा बन्द

बाँकेमा जारी निषेधाज्ञाका क्रममा एटिएमबाहेक अन्य सबै सेवा बन्द गरिने भएको छ। कोरोनाको संक्रमण र फैलावट कम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले यही शनिबारसम्म जारी निषेधाज्ञाका क्रममा एटिएम मात्रै सञ्‍चालन गर्न दिने निर्णय लिएको हो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मंगलबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी शनिबार राति १२ बजेसम्म जारी रहने निषेधाज्ञाका क्रममा अरू सबै कुरा बन्दलाई निरन्तरता दिएको हो।  बैठकले निषेधाज्ञा चार दिने लम्ब्याउने निर्णयसहित एटिएमबाहेकका अन्य सेवाहरू बन्द गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिएका छन्।

पर्सामा समुदायस्तरमा संक्रमण देखिएपछि  बारामा पनि लकडाउन

जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुनेगरी  बढी भिडभाड हुने स्थानहरू तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिसकेको छ। छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले भिडभाड हुने स्थानहरूमा  (आइतबार)बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आमनागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक भेला हुन तथा घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

झापाका स्थानीय तहमा पनि लकडाउन

झापाको बिर्तामोडमा पुनः अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालीन लकडाउनको निर्णय गरेको हो।

 बाह्रदशीका एक संक्रमित केहीदेखि अघि बिर्तामोड आएको र बिर्तामोडका एक महिला प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाभित्र कोरोनाको जोखिम बढेकोले लकडाउन गर्ने निर्णय गरेको हो।  आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ।  नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को शनिबार बसेको बैठकले आइतबारदेखि यही साउन २२ सम्म लकडाउन गर्ने निर्णय गरेको हो। केही दिनअघि वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए।

सुनसरीमा पनि लकडाउन

 इटहरी उपमहानगरपालिकाले बुधबारदेखि पाँच दिन लकडाउन गर्ने निर्णय गरेको छ। आजदेखि लागू हुनेगरी उपमहानगरपालिकाले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो।  केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै परीक्षणको दायरालाई तीव्रता दिइएको थियो।

 साउन १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए।

यस्तै, कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरिसकेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा गउको शनिबारदेखि लकडाउन गरिने भएको  हो।

कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो। जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १४ दिन लामो लकडाउन गर्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले थाहाखबरलाई जानकारी दिएका छन्।

नुवाकोटका चारवटै नाकामा लकडाउन

जिल्ला प्रशासन कार्यालय नुवाकवटले पनि कोरोना संक्रमण थपिएपछि जिल्लामा लकडाउन गरेको छ। साउन १५ देखि अर्को सूचना जारी नगरेसम्म लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।

जिल्लाका चार नाका पूर्वमा सुनाखेती चौतारी, पश्चिममा पिडालुवारी, उत्तरमा टाडें बिसौना, र दक्षिणमा केयरेनी पंचकन्या अर्को सूचना जारी नभएसम्म बन्द गरिएको ढकालले जानकारी दिए।

कञ्‍चनपुरका तीन वडा सिल

भीमदत्त नगरपालिकाका तीनवटा वडा सिल गरिएका छन्। भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेका व्यक्तिहरूमा कारोना भाइरसको संक्रमण पुष्टि भएपछि वडा नम्बर १२, १३ र १७ सिल गरिएका हो।

होम क्वारेन्टिनमा बसेकामध्ये एकजनामा पिसिआर परीक्षणको नतिजा पोजेटिभ आएपछि  वडानै सिल गर्नु परेको वडा नम्बर १२ का अध्यक्ष कृष्णसिंह देउपाले बताए।    ‘कारोना पोजेटिभ देखिएका व्यक्ति साँझका बेला निर्धक्कसँग सार्वजनिक स्थलमा देखिएपछि उनको सम्पर्कमा रहेका ३४ जनाको पिसिआर परिक्षणका लागि स्वाबको नमुना संकलन गरी पठाइएका छौं,’ उनले भने, ‘स्वाब संकलन गरिएकाहरूको परीक्षणको नतिजा भने आएको छैन।’

दार्चुलाका केही स्थानीय तह बन्द

कोरोना भाइरसको संक्रमित बढेसँगै दार्चुलाको मार्मा गाउँपालिकासँग सीमा जोडिएको नौगाड गाउँपालिकाले १ वडाबाट अर्को वडामा प्रवेश बन्द गरेको छ।

प्रमुख जिल्ला अभधिकारी शरद  कुमार पोखरेलका अनुसार मार्मा गाउँपालिका–६ सँगको सीमा जोडिएको नौगाड गाउँपालिका–४ मा प्रवेश बन्द गरिएको जानकारी दिए।

विगत ४ दिनदेखी गाड गाउँपालिकाले सूचना जारी गर्दै वडा नम्बर ४ सिप्टीको पूरै गाउँमा मार्माबाट आवत जावत बन्द गरिएको उनले जानकारी दिए। 'कोरोनाको फैलिने संक्रमण उच्च रहेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पूरै गाउँमा आवतजावत बन्द छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.