|

अर्घाखाँची : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा बिरामीलाई औषधि पुर्‍याउन रोबोट प्रयोग गरिने भएको छ।

हालसम्म स्वास्थ्यकर्मीले औषधि पुर्‍याउँदै आएको थिए। कोरोनाका बिरामीलाई रोबोटको प्रयोग गरेर औषधि पुर्‍याउने व्यवस्था गरिने भएको हो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले प्रादेशिक अस्पतालको कोरोना अस्पताललाई यस्तो रोबोट सहयोग गरेको हो।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनाल र युएनडीपीका प्रदेश संयोजक सुदीप अर्यालले बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई रोबोट हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नुपर्ने बिरामी यो अस्पतालमा उपचाररत छन्। संक्रमितसँग हेलमेल भइ राख्नुपर्ने नर्सहरुलाई सहज होस् र उनीहरुलाई संक्रमण हुनबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडीपीका प्रदेश संयोजक अर्यालले बताए।

२ लाख रुपैयाँ पर्ने रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो। एसोसिएसनका अध्यक्ष विकास गुरुङका अनुसार रिमोट कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगालगायतका सामान बिरामीसम्म पुर्‍याउन सक्छ। सक्रमित बिरामीलाई औषधि पुर्‍याउन र अवस्थाबारे बुझ्‍न सकिने छ।

रोबोटमा ५ सय मिटर पारसम्मको भिडियो लिन पनि सकिन्छ। क्यामेराका माध्यमबाट बिरामीको अवस्थाबारे भिडियोमा लाइभ हेर्न सकिन्छ। यसमा ट्याबलेट जडान गरिएको हुँदा बिरामीसँग भिडियोमा स्वास्थ्यकर्मीले भिडियो कुराकानी गर्न सकिने छ।

कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले सिस्टर रोबोटले नर्सहरुलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन सहयोग पुग्ने बताए। केही व्यवस्थापनका काम पूरा गरेर रोबोट प्रयोगमा ल्याउने उनले जानकारी दिए।

नर्सले बिरामीलाई गर्ने हेरचाह गरे जसरी रोबोटले हेरचाह गर्ने भएकाले यसको नाम 'सिस्टर रोबोट' नाम राखिएको छ। युएनडीपीले काठमाडौंको टेकु अस्पतालमा पनि यस्तो रोबोट उपलब्ध गराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.