झोलुंगे पुलमा विश्‍वकै लामो दाबी

|

पर्वत : झोलुंगे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला लामा झोलुंगे पुलको जिल्लाको रूपमा चिनिने पर्वत जिल्ला जोड्ने गरी झोलुंगे पुल बनेपछि दुई जिल्लाकै पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवाबारी र बागलुङको सदरमुकाम समेत रहेको बागलुङ नगरपालिका १ रामरेखाको बाङ्गेचौर जोड्ने गरी बनेको पुलले पर्यटनको विकास सँगसँगै आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र शैक्षिक गतिविधिमा सुधार गर्ने धेरैको अपेक्षा छ।

२ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी श्री थानी÷बि.एल.टि.÷हिमशिखर जे.भी. सँग २०७५ फागुन २१ मा पुलको सम्झौता भएको थियो। पुलको शिलान्यास राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७६ वैशाख १ मा गरेका थिए। तर निर्माण कम्पनीले तोकिएको समयभन्दा पहिले नै निर्माण पूरा गरेर साउन १६ गते शुक्रवारदेखि पुल सर्वसाधारणका लागि खुल्ला भएको छ।

यसरी दाबी गरियो विश्वकै लामो भनेर

विभिन्न स्रोतहरूमा उल्लेख भएअनुसार पैदल यात्रीका लागि निर्माण भएको सबैभन्दा लामो झोलुंगे पुल स्विट्जरल्याण्डमा बनेको थियो। चार्लेस कुनेन पेडीस्ट्रेन नामको उक्त पुलको लम्बाई ४ सय ९४ मिटर रहेको छ।

पाङ अदुवाबारी पुलको लम्बाई भने ५ सय ६७ मिटर रहेको छ। जुन स्विट्जरल्याण्डको पुलभन्दा ७३ मिटर लामो बनेको छ। यही कारण पुललाई विश्वकै लामो दाबी गरिएको हो। जसको भार वहन क्षमता एक पटकमा ६ सय १२ जना पदयात्री रहेको छ।

सस्पेन्सन ब्रिज डिभिजनको नयाँ इतिहास

सस्पेन्सन ब्रिज डिभिजनले देशभरका लामा र विशिष्ट प्रकारका झोलुंगे पुलहरूको निर्माण गर्ने गरेको छ। दुई जिल्ला जोड्ने गरी बनेको यो पुल विश्वको लामो मात्र नभई सस्पेन्सन ब्रिज डिभिजनका लागि नयाँ इतिहास पनि बनेको छ। हालसम्म निर्माण गरेको झोलुंगे पुलभन्दा विशिष्ट प्रकृतिको बाङ्गेचौर–अदुवाबारी झोलुंगे पुल डिभिजनले आफ्नै जनशक्तिमार्फत सर्वेक्षण, डिजाइनको कार्य गरी ठेक्का व्यवस्थापन एवं निर्माण गरेको हो।

उक्त झोलुंगे पुलको निर्माण हुनु अघिसम्म डिभिजनमा रहेको ज्ञान, सीप, अनुसन्धान, विद्यमान प्रविधि र निर्माण व्यवसायीक क्षमताको आधारमा ३ सय ५९ मिटर लम्बाइसम्मको एकल स्पानको झोलुंगे पूलको निर्माण हुँदै आएको थियो।

यस्तो थियो चुनौती

झोलुंगे पुल निर्माण गर्दा चुनौती र अवसर दुवै भएको डिभिजनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। पुल निर्माण गर्दा प्राविधिक दृष्टिकोणबाट सम्भव नहुन पनि सक्छ भन्ने र लट्ठा तान्ने प्रविधि नयाँ भएकोले सो प्रविधिबाट लट्ठा तान्न सफल हुने नहुने भन्ने द्विविधा सुरुमा थियो। पुल निर्माणस्थल भन्दा तल मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर  र विद्युत् प्रसारण लाइन रहेका कारण तिनीहरूलाई क्षति नगरी सुचारु गराउनु अर्को चुनौती थियो।

यस्तो प्रकृतिका लामो झोलुंगे पुलको निर्माण हालसम्म नभएकोले पुल निर्माण सहज भएमा यस्तै पुल निर्माण गर्न थप अवसर प्राप्त हुने अवस्थालाई डिभिजनले मौकाको रूपमा लियो।

कति भयो लगानी?

पुल निर्माणको लागि सुरुमा १२ करोड २२ लाख १८ हजार लागत अनुमान गरिए पनि लट्ठा र लट्ठा तान्ने मेसिनसहित स्थानीय पूर्वाधार विभागले २ करोड, १८ लाख ७४ हजार उपलब्ध गरायो। पछि निर्माण व्यवसायीसँग भ्याटसहित ८ करोड, २७ लाख ६ हजारमा सम्झौता भयो। पुल निर्माणको क्रममा दैनिक एक जनाको रूपमा हेर्दा ३५ जनाले रोजगारी पाएका थिए।

यस्तो छ महत्त्व

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको संगमस्थल मालढुंगाभन्दा माथि दुवै सडक र कालीगण्डकी नदीमाथि पुल बनेको छ। पुलको बागलुङतर्फको नजिकै बागलुङ भगवती मन्दिर रहेको छ। जहाँ बर्सेनि हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन्।

पर्वततर्फको पाङ गाउँ पार्वतीको जन्मस्थलका रूपमा परिचित छ। उर्वर भूमिसमेत रहेको पाङमा हुने कृषि उपजले बागलुङ बजारमा लगेपछि सहजै बजार पाउने भएका छन्। बागलुङ जिल्ला र पर्वत दुवै जिल्लामा धार्मिक, सांस्कृतिक र पर्यटन विकासका हिसाबले पुलले ठूलो अर्थ राखेको छ भने पाङका नागरिकका लागि यो पुल कृषकमैत्री बनेको छ।

पाङका नागरिक बिरामी हुँदा सवारीमा आधा घण्टाको यात्रा गरेर सदरमुकाम कुस्मा बजार आउन बाध्य हुन्थे तर अब १५ मिनेटमा पैदल यात्रा बाट नै बागलुङका स्वास्थ्य संस्थामा पुगेर उपचार सेवा लिन सक्नेछन्। बजारबाट टाढा भएका कारण गाउँमा खेर गइरहेको तरकारी र अन्य उत्पादन पनि १० मिनेटमा नै बजार पुग्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.