|

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसियु प्रमुख संजय यादवले राजीनामा दिएका छन्। अस्पतालको गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आइसियु प्रमुख यादवले राजीनामा दिएका हुन्।

उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसियु खोल्न नसकेको आरोप लगाएका छन्। उनी भन्छन्, ‘सिकिस्त कोरोना शंकास्पद बिरामीलाई पटक पटकको आग्रहको बाबजुद पनि जनरल आइसियुमा अन्य बिरामीसँग राख्दा अस्पतालमै कोरोना संक्रमण फैलिएको छ।’

उनले डाक्टर, नर्स र अन्य कर्मचारीलाई धाकधम्की देखाएर सुरक्षा सामग्री उपलब्ध नगराई काम काजमा खटाउने गरेको खुलासा पनि गरेका छन्। पिपिइसमेत उपलब्ध नगराएर कोरोना शंकास्पद बिरामीको उपचारमा खटाउँदा २ डाक्टर, ७ स्टाफ नर्स, १ सरसफाई कर्मचारीसहित १३ जना कोरोना संक्रमित भएको उनको भनाई छ।

होटलको आइसोलेसनमा बसेको संक्रमित कर्मचारीलाई रातारात डर, धम्की र बास देखाएर प्रादेशिक अस्पतालको अव्यवस्थित आइसोलेसनमा राखेकोमा उनले आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘आइसियु प्रमुखको नाताले कर्मचारीहरुले रुँदै गुहार माग्दा पनि मैले विवश र निरीह भएर सान्त्वनाबाहेक केही गर्न सकेको छैन।’

हालसम्म जोखिम भत्ता समेत नपाएको उनको गुनासो छ। उनले आइसियुमा कार्यरत कर्मचारीसँग माफी माग्दै अगामी दिनहरुमा कर्मारीको मनोबल उच्च राख्न नसकिने निष्कर्ष निकाल्दै राजीनामा दिएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.