|

कपिलवस्तु : गत मंगलबार नेपाल आदर्श माध्यामिक विद्यालय शिवपुरका शिक्षिका कुलाकुमारी जिसी कक्षा ४ का ५ जना विद्यार्थीलाई नेपाली विषय पढाउँदै थिइन्। नगरपालिकाले वैकल्पिक शिक्षा प्रदान गर्ने निर्देशनअनुसार दैनिक ३ घण्टा विद्यालय सञ्चालन भइरहेको थियो। 

दैनिक एक तहका बालबालिकालाई अलग अलग कोठामा राखी शिक्षण गरिन्थ्यो। उनले पढाउँदै गर्दा शिक्षकमा कोरोना संक्रमण भएको हल्लाखल्ला सुरु भयो। कक्षा तुरुन्त बन्द गर्न लगाई उनलाई घर पठाइयो। 

घरमा पुगेपछि मात्र जिसीले आफूलाई कोरोना संक्रमण भएको थाहा पाइन्। उनका पतिले संक्रमण भएको जानकारी दिएपछि एकछिन त उनी स्तब्ध भइन्। त्यसपछि अलग कोठामा बसिन्। 

शिवराज नगरपालिकामा वैकल्पिक शिक्षाका काममा खटिएका शिक्षकमा कोरोना देखिएपछि कपिलवस्तुमा समुदाय र विद्यालयमा सञ्चालन भएको पढाइ अचानक बन्द गरियो। नेपाल आदर्श माविका ४ शिक्षकमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ। 

कक्षा सञ्चालनका लागि समुदाय र विद्यालयमा आएका शिक्षक नै संक्रमित भएपछि कपिलवस्तुका विद्यालय कसरी सञ्चालन गर्ने भन्ने अन्योल बढेको छ। जिल्लाको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना देखिएको छ। शिवराजका ४ शिक्षक, कपिलवस्तका १ शिक्षक र विजयनगर गाँउपालिकामा अध्यापन गराउने कृष्णनगर नगरपालिकाका १ जना शिक्षकमा कोरोना देखिएको छ। 

कृष्णनगर नगरपालिकाका ४ विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। शिवराजमा शिक्षकमा मात्र कोरोना परीक्षण गरिएको छ। 

वैकल्पिक शिक्षाले संक्रमण बढायो 

संक्रमित शिक्षकको ट्राभल हिस्ट्री नभएका कारण समुदायबाट शिक्षकमा कोरोना संक्रमण भएको देखिन्छ। 

संक्रमित शिक्षक जिसीको भनाइ उनकै शब्दमा 

विद्यालयले कक्षा सञ्चालनका लागि अभिभावक र बालबालिका भेट्न टोल टोलमा खटाएको थियो। शिवपुर टोलका एक घरको आँगनमा अभिभावक र उनका २ बालबालिकासँग छलफल गर्दै थिए। अचानक पानी परेपछि ओत लाग्न घरभित्र छिर्नुपर्ने अवस्था आयो। 

त्यो घरमा एक जना भारतबाट आएर बसेका थिए। मास्क लगाएर एक छिन बसेको मात्र थिए। ती व्यक्तिमा कोरोना भएको थाहा पाएपछि मैले स्वाब परीक्षण गरेको थिएँ। हाम्रो विद्यालयका १० जना शिक्षकको पिसिआर परीक्षण गर्दा २ जनामा कोरोना देखिएको थियो।

कोरोना संक्रमित अर्का शिक्षक प्रकाश अधिकारीको भनाइ यस्तो छ

म अत्यन्त सचेत थिएँ। भिडभाडमा नबस्ने, मास्क सधैं प्रयोग गर्ने गर्थें। सेनिटाइजर बोकेर हिँडेकै थिए। तर आफू संक्रमित हुँदा अचम्म लागेको छ। विद्यालयको बैठक सानो कोठा हुन्थ्यो। ८५ जना बस्दा सामाजिक दूरी पालन गर्न सकिएन। जिल्ला र भारतमा बस्ने शिक्षकसमेत छन्। बैठकका कारण सबै शिक्षक र विद्यार्थीमा जोखिम बढेको छ।’ 

तत्काल विद्यालय खोले जोखिम बढन सक्छ

कपिलवस्तुका समुदायमा कोरोना संक्रमण फैलिरहँदा विद्यालय संचालन गर्दा अझ जोखिम बढ्न सक्ने देखिएको छ। समुदायका कोरोना संक्रमणको अवस्था थाहा नभएकोले तत्काल विद्यालय खोल्न नहुने संक्रमित शिक्षक अधिकारीले बताए। 

बालबालिकाहरु फरक फरक समुदायबाट आएकाले उनीहरु समूहमा नजिकिएर बस्न खोज्छन्। जसका कारण संक्रमण फैलिने सक्ने शिक्षक अधिकारीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.