जनकपुरधाम : मन्त्री र कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि प्रदेश २ का मन्त्रालयहरु सुनसान बनेका छन्। कर्मचारीहरु कार्यालय आउन छाडेका छन्। मन्त्रालय र मन्त्रीहरुको निवास रहेको मधेस भवनमा प्रवेश निषेध गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित ८ कर्मचारी, सामाजिक विकास मन्त्रालयका ३ कर्मचारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारीमा कोरोना पुष्टि भएको थियो। मधेस भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन्। त्यहाँ जान खोज्नेलाई सुरक्षाकर्मीले ‘मन्त्रालयबाट फोन गर्न लगाउनुस्, अनि मात्र जान दिन्छौं’ भन्ने गरेका छन्।
मन्त्रीहरु दिएका निर्देशनबमोजिम अनुमतिबिना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन। मधेस भवनभित्र सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छन्।
यस्तै मुख्यमन्त्री, मन्त्रीहरु र सचिवहरुको निवास पनि भित्रै छ। मुख्य न्यायधिवक्ता र नीति आयोगको कार्यालय पनि सोही भवनमा छ। बिहीबार कुनै पनि मन्त्री र राज्यमन्त्री मन्त्रालयमा भेटिएका थिएनन्। अधिकांश कर्मचारी पनि उपस्थित थिएनन्। मन्त्रालयका अधिकांश शाखामा ताला झुण्डिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडि भेटिएका एक कर्मचारीले भने, ‘कोरोनाको डर कसलाई छैन ? संक्रमित हुने डरले कर्मचारीहरु कोठाबाटै काम गरिरहेका छन्।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि कर्मचारी र सचिव अनुपस्थित थिए। कार्यालयको गेटमा ‘केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको छ,’ भन्ने सूचना टाँसिएको छ। दिउँसो डेढ बजे कार्यालयको ढोका खोलेका एक सुरक्षाकर्मीले भने, ‘भित्र कोही छैन। भर्खर कार्यालय खोलेको छु।’
यस्तै जनकपुरको मुरली चोकमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मुख्यद्वारसमेत बन्द छ। जनकपुरमा निषेधाज्ञा जारी भएको दिनदेखि मन्त्री, सचिव र कर्मचारीहरु कार्यालय जान छाडेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।