|

काठमाडौं : यतिखेर जताततै कोरोना भाइरसको त्रास छ। कोरोनासँगै उपत्यकावासीमा अर्को समस्या थपिएको छ, त्यो हो–फोहोर व्यवस्थापन नहुनु। जब वर्षात लाग्छ, वर्षौंदेखि काठमाडौं उपत्यकाका सडक–सडकमा फोहोर थुप्रिन्छन्। कहिले सडक पार गर्नसमेत सकस पर्छ। दुर्गन्धको त कुरै नगरौँ। 

अहिले पनि जोरपाटी चोक, बौद्ध, चुच्चेपाटी, पुतलीसडकलगायत ठाउँमा फोहोर थुप्रिएका छन्। भृकुटीमण्डपको दरबार स्कुल  र संस्कृत विद्यालय गेटअगाडि जहिले पनि एउटा फोहोर राखिएको गाडी रोकिरहेको देखिन्छ। तर, सडकमा थुप्रिएको फोहोर उठाइँदैन।

गाडीमा उठाएको फोहोर पनि व्यवस्थापन हुँदैन। जहिले वर्षातको समयमा यस्तै फोहोरको समस्या दोहोरिए पनि काठमाडौं महानगरपालिकाले दीर्घकालीन रूपले अहिलेसम्म व्यवस्थान गर्न सकेको छैन। जसको दुर्गन्धले मुख थुन्दै सर्वसाधारण हिँड्न बाध्य छन्। 

स्मार्ट डस्टविनको बेहाल 

काठमाडौं महानगरपालिकाले सडकका विभिन्न ठाउँमा स्मार्ट डस्‍टबिन राखेको छ। प्रदूषणसमेत मापन गर्न सकिने डस्‍टबिन फोहोरले भरिएका छन्। तर, महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन। माइतीघरमा रहेको स्मार्ट डस्‍टबिनमा फोहोर भरिएर भुइँमै झरेको झण्डै एक महिना पुग्न लागिसक्यो। तर, फालिएको छैन। 

बिहीबार सोही ठाउँको फोहोर भरिएको स्मार्ट डस्‍टबिननजिकै बसेर गाडी कुरिरहेका भक्तपुरका कुमार डंगोलले स्मार्ट डस्‍टबिन देखाउँदै भने,‘डस्‍टबिनमा फोहोर भरिएर बाहिर निस्किसक्यो। खै कसले व्यवस्थापन गर्ला र?’

कोरोना महामारीको बेला सडकमा अस्तव्यस्त फोहोरले बाहिर हिँड्डुल गर्न समस्या भएको उनले सुनाए। ‘एकातिर कोरोनाको त्रास छ,अर्कातिर फोहोर दुर्गन्धको समस्या छ। वषौंदेखि यस्तो समस्या भाोग्दै आएका छौँ’ उनले थपे।

कहिले बन्ला बच्चरेडाँडाको ल्याण्डफिल्ड साइट?

नुवाकोट साबिकको ओखरपौवा हालको ककनी गाउँपालिका–२ स्थित सिस्डोलमा विगत १५ वर्षदेखि काठमाडौं,ललितपुरलगायत ठाउँको फोहोर व्यवस्थापन हुँदै आएको छ। काठमाडौं महानगरपालिकाका अनुसार २०६२ सालमा तीन वर्षसम्मको लागि मात्रै फोहोर व्यवस्थापन गर्ने गरी तत्कालीन स्थानीय विकास मन्त्रालयले स्थानीयसँग सहमति गरी त्यहाँ फोहोर व्यवस्थापन गर्ने गरिएको थियो।

दीर्घकालीन फोहोर व्यवस्थापनको लागि सिस्डोलभन्दा करिब दुई किलोमिटर अगाडि बञ्चरेडाँडामा २०५८ सालदेखि ल्यान्डफिल साइट निर्माण थालियो। तर, अहिलेसम्म सम्पन्न हुन सकेको छैन। परीक्षणका रूपमा मात्रै ल्यान्डफिल साइट बनाइएको सिस्डोलमा फोहोर भरिँदा बस्ती अस्तव्यस्त भएको भन्दै स्थानीयले बारम्बार फोहोर फाल्न रोक लगाउँदै आएका छन्। 

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ वर्षातको समय भएकाले अहिले धमाधम बन्चरेडाँडामा काम हुन नसकेको बताउँछन्। ‘बञ्चरेडाँडामा वर्षातले गर्दा भने जस्तै अहिले काम हुन सकेको छैन,’उनले भने,‘सकेको जति अहिले ल्यान्डफिल साईट निर्माणको काम भइरहेको छ।’ उनले अहिलेसम्म ५० प्रतिशत निर्माणको काम सकिएको बताए।

उनका अनुसार अहिले वर्षातले गर्दा त्यस ठाउँमा जान सकिने अवस्था छैन। कहिले सम्ममा निर्माण सम्पन्न हुन्छ भनी समय यकिन गर्न नसकिने उनको भनाइ छ। बञ्चरेडाँडाको ल्यान्डफिल साइट निर्माण लागत २ अर्ब ४१ करोड रुपैयाँ लाग्ने महानगरपालिकाको अनुमान छ। 

‘उपत्यकामा थुप्रिएका फोहोर उठ्छ’

विभाग प्रमुख श्रेष्ठले उपत्यकाभित्रको सबै फोहोर उठाउँदै आएको बताउँदै बाँकी रहेका ठाउँको पनि फोहोर व्यवस्थापन गर्दै जाने बताए। उनले भने,‘हामीले अहिले पनि फोहोर उठाउँदै आएका छौँ। हिजो परेको पानीले गर्दा फोहोर नउठेको हुन सक्छ। नउठेका फोहोर अब उठाउँदै जान्छौँ।’ महानगरपालिकाका अनुसार अहिले दैनिक उपत्यकाको फोहोर करिब आठ सय मेट्रिक टन सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.