बाँके : बाँके प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई बिहीबार क्वारेन्टाइनमा पठाएको छ। कोरोना संक्रमण फैलिन नदिन जारी भएको निषेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई क्वारेन्टाइनमा लगेर राखेको हो।
कोरोनाको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि गरिएको निषेधाज्ञा उलंघन गर्नेहरुलाई क्वारेन्टाइनमा लगेर राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। उनले निषेधाज्ञा उलंघन गरि पसल खोल्ने व्यापारी, रिक्सा चालक लगायतलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको बताए
गत शनिबार राति १२ बजेदेखि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि पहिलो पटक तीन दिनका लागि जारी गरिएको निषेधाज्ञा पुनः चार दिन थप गरिएको छ।
प्रशासनले निषेधाज्ञा जारी गरे पनि नेपालगन्जका केही व्यापारीले अटेर गरि पसल खोल्ने र रिक्सा चालकले यात्रु ओसारेको गुनासो आएपछि कडाई गरिएको प्रजिअ कुरुम्बाङले बताए।
उनले निषेधाज्ञा उलंघन गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने बताए । ‘प्रशासनको निर्देशन अटेर गर्नेले महंगो मुल्य चुकाउनु पर्ने हुन्छ,’ कुरुम्बाङले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।