प्रहरी र न्यायाधीशको काम पनि आफैं गर्न थाले

|

काठमाडौं : 'प्रेमीकै अगाडि प्रेमिकालाई ४ युवकले गरे यस्तोसम्म... दाङमा हेर्नुहोस् फेरि यस्तो भयो।' माइक्रोलिंक मिडिया प्रालि नामको एक युट्युब च्यानलले केही दिनअघि दाङमा भएको बलात्कारको घटनामा पीडित किशोरीको अन्तर्वार्ता लिएर राखिएको शीर्षक हो यो।

शीर्षक नै यति जिज्ञासा उत्पन्‍न गराउने आशयले राखिएको छ कि यसमा आँखा लाउनेले क्लिक गर्छ नै। यसअघि विभिन्न भुगोलमा पुगेर विभिन्न व्यक्ति तथा घटनामा केन्द्रित भएर  अन्तर्वार्ता गरेका प्रस्तोता भोजराज थापाले प्रहरीले अनुसन्धान गरिरहेको विषयमा  युवतिलाई सोधेका कतिपय प्रश्नका जवाफ आह्श्चर्य लाग्दा छन।

थापाले सोधेका प्रश्‍नहरू सुन्दा नै मुख छोप्नुपर्ने त छँदैछ। त्यसमाथि ती किशोरीले ओकलेका शब्द र उनले भोगेको घटनाको चित्कार आम नागरिकले सुन्‍न सक्ने सामर्थ्य राख्दैन।

महिनावारी भएर नुहाउन गएकी ती युवतीलाई चार युवाले बलात्कार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी छन्। प्रहरीलाई जाहेरी दिएपछि प्रहरीले आरोपितमाथि अनुसन्धान थालेको छ। दुईजनालाई पक्राउ गरिसकेको छ २ जना अझै फरार छन्।

प्रहरीले अनुसन्धान गरिरहेको विषयमा अन्टसन्ट शीर्षक राखेर भिडियो सार्वजनिक गरिएको छ। शीर्षकबाट नै थाहा हुन्छ। अन्तर्वार्ताको मूल आशय पीडितलाई न्यायभन्दा डलर कमाउने 'निन्जा टेक्निक' हो।  

भावुक हुँदै गोही आँसु निकाल्दै पीडितलाई इमोसनले ब्ल्याक मेलिङ गरेर प्रहरीलाई दिनुपर्ने बयान युट्युबरले लिइरहेका छन्। प्रहरी अनुसन्धानमा रहेको विषय पीडितलाई समेत क्यामेरामा कैद गरेर समाजमा छरपष्ट बनाउँदा यसको असर मृत्युपर्यन्त  पीडितले भोग्नुपर्छ। यस्ता कन्टेन्टमा भिडियो बनाउँदा भ्युअर बढ्ला, डलरको खेती पनि होला तर, ती युवतीको परिवार र आफन्तको भावना र आत्मसम्मानमा पुग्‍ने क्षतिको हिसाब कसले गर्छ?

पीडितको परिवारले कसरी ति  शब्द सुन्‍न सक्छ? एकातिर छोरीको बलात्कार हुनु  र अर्कोतर्फ भावुक बनाएर युट्युबरले त्यही पीडितलाई अन्तर्वार्तामा सुन्‍नै नसकिने शब्द प्रश्‍न गरिँदा परिवारमाथि भावनात्मक बलात्कार भएको छ। 

कुनै पनि पिडित महिलाले दिएको जाहेरीपछि त्यसबारेको अनुसन्धान प्रहरीले गर्छ भने सरकारी वकिल राखेर बयान लिइन्छ। बलात्कार र महिला हिंसाको केसमा सत्यतथ्य पत्ता लगाउन प्रहरीभित्र पनि महिला अधिकृतको जिम्मा हुने नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायत बताउँछन्। प्रहरीले बलात्कार वा अन्य घटनामा पीडित व्यक्तिको तस्विर पनि सार्वजनिक गर्दैन।

प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बलात्कारमा परेकी पीडितलाई सार्वजनिक गर्ने अधिकार एउटा क्यामरा बोकेर भरमा आफूलाई न्यायमूर्ति ठान्‍ने युट्युबरलाई हुँदैन। थापाले बडो भावुक हुँदै सोधिएको प्रश्‍नमा ती युवतीले सकेसम्म आफूमाथि भएको घटना बताएकी छिन्।

बलात्कार भनेपछि बलात्कार नै हो। प्रहरीमा जाहेरी दिएकी ति युवतीलाई प्रहरीले जस्तै केरकार गरेका छन् उनले। ती युवतीको सोझोपनको फाइदा लिँदै थापाले अनेक प्रश्‍न सोधेका छन्। यो के जायज छ?

दुःख पीडामा परेकाहरूले भोगेका समस्यालाई बाहिर ल्याउनु, विसंगतिविरुद्ध आवाज उठाउनु, झक्झकाउनु र पीडितको न्यायको लागि भरोसा दिनु एक जिम्मेवार पत्रकारको काम हो।

नेपाली समाजमा अहिले जुनसुकै मिडियामा काम गरे पनि उसले पत्रकारको उपमा पाइहाल्छ।  यसका लागि न कुनै अध्ययन छ न त कुनै क्षमता।

ती युवतीका केरकारमा सोधिएका प्रश्न पत्रकारको इथिक्स  भन्दा बाहिरको हो। नेपालका धेरै व्यक्तिले युट्युबरलाई पनि पत्रकारको रुपमा चित्रित गर्छन्।

पछिल्लो समय आफैं अदालत, आफैं न्यायाधीश, आफैं प्रहरी र आफैं  समाजसेवीको सबै रुपमा युट्युबरलाई देख्‍न पाइन्छ। कतिपय युट्युब चलाउने व्यक्तिले समाजमा लुकेका प्रतिभा बाहिर ल्याउन मद्दत गरेका छन्। गरिबको उद्धार गरेका छन्।  तर, कोही युट्युबरले कति व्यक्तिलाई रातारात भगवान बनाउने रातारात राक्षस बनाउने अभियान चलिरहेको छ।

 युट्युव नेपाल अहिले निकै फस्टाएको चीज मध्ये एक हो। युट्युवमा आएका कन्टेन्ट र तिनलाई हेरेवापत आउने रकमले यहाँ धेरैका लागि राम्रो आम्दानीको श्रोत बन्दै गइरहेको छ। तर, युट्युबमा उत्पादन गरिएका कन्टेन्ट हेर्दा सरकारले यसमाथि निगरानी गर्न कडा कानुन ल्याउन जरुरी भइसकेको छ।

नेपालमा युट्युवमा आउने कन्टेन्ट र तिनमा आउने कमेन्टले नेपाली समाज वास्तविक चित्र उदाङ्गो बनाएको छ। युट्युब आफैंमा कुरूप होइन। तर, यस क्षेत्रमा लागेका व्यक्तिहरूले सामाजिक मूल्य मान्यता र नैतिकता नै गुमाएर कन्टेन्ट उत्पादन गरिदिँदा यस क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्तिलाई थप चुनौती बढेको छ।

त्यो अन्तर्वार्ता त एउटा  उदाहरण मात्र हो। अचेल युट्युवमा नेपालका भएका ठूला ठुला  घटनाका पर्दाफास गर्ने लहड चलेको छ। प्रहरी भन्दा एक कदम अगाडी बढेर बिना श्रोत घटनालाई मोडेर समाजमा अफवाह फैलाउने कार्य रोकिएको छैन।

 समाजलाई भ्रमित बनाउन शीर्षकमा अनेकन शब्द  राखेर आम जनतालाई दिग्भ्रमित बनाउने काम भइरहेको छ। यसमा  प्रेस काउन्सिल टुलुटुलु हेर्न विवश छ।

निरीह प्रेस काउन्सिल

अहिले प्रेस काउन्सिलले नेपाली संचारमाध्याममा कडा निगरानी जारी राखेको छ। पत्रकारिताको नैतिकता गुमाएर उत्पादन गरिएका समाचारहरु प्रशारण भए काउन्सिलले कैंची चलाउँछ। पछिल्लो समय नेपालमा अफवाह फैलाउने धेरै अनलाइन  पोर्टल काउन्सिलको निशानामा परिसकेका छन्।

तर, युट्युबलाई भने काउन्सिलले छुन समेत सकेको छैन। युट्युबरको मनपरीमा प्रेस काउन्सिल निरीह बनेको छ। काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले युट्युब नियमन गर्न कुनै निर्देशिका जारी नगर्दा आफूहरू निरीह हुनुपरेको स्वीकार्छन्।

'सरकारले युट्युबमाथि निगरानी बढाएन भने कानुनी राज्यमा समाजमा विकृति निम्तिने खतरा उच्च छ। अहिले युट्युबको कारणले समाजमा छाडापन र लुटतन्त्रको जग्जगी छ', अध्यक्ष श्रेष्ठले भने, 'युट्युबर आफैं न्यायाधीश र प्रहरी बनेर भ्रम पार्ने र कानुनको समेत ख्याल नगरी कन्टेन्ट उत्पादन गरिदिँदा कानुनी राज्यको उपहास भएको छ। यसले राज्य कमजोर हुन्छ।'

काउन्सिलले चार महिनाअघि सूचना तथा संचार मन्त्रालयलाई युट्युबमाथि नियमनका लागि पत्र काटिसके पनि सरकारले कुनै सुनुवाई गरेको छैन।

सरकारले युट्युबमाथि नियमन नगर्दा अहिले केही व्यक्तिले यसको फाइदा उठाइरहेका छन्।  श्रेष्ठ भन्छन्, 'युट्युबरहरूले समाजमा भ्रम र छाडापनको खेती गरेका छन्। यसले यहाँ इमान्दार भएर काम गरिरहेका संचारकर्मी र पत्रकारको हुर्मत लिने काम भइरहेको छ।'

हरेक देशमा आफ्नै कानुन छ। प्रविधिको विकास र इन्टरनेटको  पहुँचले के कस्ता सामाग्री उत्पादन गर्ने र प्रशारण गर्ने निति त्यो देशको सरकारको हो। नेपालमा युट्युबरमाथि सरकारको निगरानी छैन,जसले गर्दा युट्युबमार्फत सामाजिक मर्यादाको पनि ख्याल नगरी जथाभावी कन्टेन्ट आइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.