|

कैलाली : गत शनिबार दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बझाङको बा१झ ९२५० नम्बरको गाडीले एक मोटरसाइकललाई ठक्कर दियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–६ मा बा३२प ६४५३ नम्बरको मोटरसाइकलमा ठक्कर लागेपछि चालक सिद्ध जयगढी गम्भीर घाइते भए। 

बर्दगोरिया गाउँपालिका–४ घर भएका जयगढी धनगढीतर्फ आउँदै थिए। गम्भीर घाइते उनलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको छ। जयगढी अहिले नेपालगन्जमै उपचाररत छन्। 

तर उक्त घटनाको वास्तविकता भने अर्कै छ। घटनालाई लुकाउन खोजिएको पाइएको छ। 

घटनाक्रम यस्तो छ 

दुर्घटनालगत्तै सरकारी गाडी घटनास्थलमै छोडेर सवार सबै फरार भए। ट्राफिक प्रहरीले उक्त गाडी नियन्त्रणमा पनि लिए र घटनास्थल नजिक कसैलाई पनि जान दिइएन, बरु उल्टै गाडीको नम्बर प्लेट हिलोले छोपिदिए। जिल्ला प्रशासन कार्यालय बझाङका सहायक सिडियो राम बहादुर सार्कीका अनुसार उक्त गाडीमा ५ जना सवार थिए।

आफूसहित अनुसन्धानका डिएसपी देवेन्द्र थापा, जगत विष्ट र सुरेश जोशीसँग सवार रहेको सार्कीले बताए। सहायक सिडियो सार्कीले आफू पायल्सको बिरामी रहेकोले उपचारका लागि लम्की जाँदै गरेको जानकारी दिए। 

गाडी कसले चलाएको थियो भन्ने प्रश्नमा भने उनले उत्तर दिन आनाकानी गरिरहे। लगातार प्रश्न गरेपछि प्रशासनका चालक जनक ऐरले नै चलाएको उनले दाबी गरे। तर चालक ऐर बिदामा थिए। 

उनले लगातार गाडी चालक ऐरले नै गाडी चलाएको दाबी गरिरहे तर ‘कुरा बाझियो नि सर, घरमा रहेको चालकले कसरी गाडी चलाउँछन् भन्ने प्रश्न गरेपछि ‘हामी कर्मचारीहरुले कतिपय कुरा खोल्न नमिल्ने र बाँकी प्रमाण जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेको’ उनले बताए। 

यो बिषयमा बुझ कैलालीका डिएसपी प्रतीक विष्टलाई सम्पर्क गर्दा उनको फोन सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले उठाए। उनले सा’ब बिरामी भएको भन्दै उनको जिम्मेवारी आफूले हेर्ने गरेको बताए। तर यो घटनाको विषयमा भने उनले पनि बोल्नै चाहेनन्। आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। उनले हामीलाई उल्टै प्रश्न गरे, किन चाहिएको हो र?

स्रोतका अनुसार सोही दिन चालक जनक ऐर प्रशासन कार्यालयबाट बिदा लिएर कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित आफ्नो घर गएका थिए। प्रशासनको उक्त गाडी सुदूरपश्चिम प्रदेशसभा सभामुख अर्जुन थापाका छोरा देवेन्द्र थापाले चलाएका थिए। सहायक सिडियो सहितको टोली चिसापानी घुम्न निस्किएको स्रोतको दाबी छ। 

सत्ता र शक्तिकै आडमा प्रशासनको गाडी चलाएर मोटरसाइकललाई ठक्कर दिने सभामुखका छोरा देवेन्द्रलाई न त प्रहरीले पक्राउ गरेको छ, न त सत्य नै बाहिर आएको छ। उल्टै उनलाई जोगाउन र घटना लुकाउन प्रहरीले अनेक अस्त्र प्रयोग गरिरह्यो। 

उता इलाका प्रहरी कार्यालय लम्किचुहा प्रहरीले भने उक्त घटनाका विषयमा कुनै कुरा बोल्न चाहेन। हामीलाई बोल्ने अधिकार नभएको भन्दै बोल्न मानेन्। सबै जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएको र डिएसपी सा’बले नै जानकारी दिने भन्दै फोन राखे। 

प्रहरीले दुर्घटना भएको हप्ता दिन बितिसक्दा समेत सत्ता र शक्तिको आडमा कसैलाई पक्राउ गरेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले भने दुवै पक्ष आपसमा समझदारी गरेर गएको जनाउँदै आएको छ। 

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च जिल्ला प्रशासन कार्यालयले बेहोर्ने सहमति भएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीले सानालाई ऐन, ठूलालाई चैन गरेको भन्दै सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.