समाज : सुरक्षा/अपराध

फुर्वाको हत्या आरोपमा भाइ र भतिजी पक्राउ

साउन २४, २०७७

    ताप्लेजुङ : ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइ र भतिजीलाई प्रहरीले पक्राउ गरेको छ।

    मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा उनका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पासाङ ल्हामु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ।

    आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या शंकामा साउन १९ मा उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा आफूहरुले नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए। शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान थालिएको श्रेष्ठले बताए।

    फुर्वासँग पेम्बाको वादविवाद हुँदा पासाङसँगको सहयोगमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको र अगेनामाथि राखी ओछ्याउन प्रयोग हुने म्याट्रिस, राडी, कम्बल साथै दाउराले समेत छोपेर आगो लगाई दिएको आरोपितहरुले बताएका छन्।

    फुर्वा गत साउन १२ मा घरदेखि करिब छ घण्टा पैदल दूरीमा पर्ने आफ्नै गोठमा मृत फेला परेका थिए। गोठमा एक्लै बस्दै आएका फुर्वा साउन ६ घरमा आई ८ गते खाद्यान्नलगायतका सामान लिएर गोठ फर्किएका थिए। यस्तै, साउन १२ मा थप खाद्यान्नलगायतका सामान लिएर छिमेकीसहित गोठमा पुगेकी बुहारीले मृत अवस्थामा भेटेपछि फोनमार्फत घर परिवारमा खबर भएको थियो।

    दाजुको हत्या स्वीकार गर्ने भाइ र भतिजीको गोठ समेत मृतकको गोठभन्दा एक घण्टा पैदल दूरीमा रहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा दुई वर्षअघि सामान्य विषयमा उनीहरुबीच वादविवाद चल्दै आएको पाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]