|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेतमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ। एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ।

लाखौंको संख्यामा देखिएको सलहले बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित छन्। पश्चिम म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौर लगाएतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसानहरु रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका २ खबराकी कृषक तुलसी सापकोटाले बताइन्।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गौश्वाराका कृषक धु्रब घिमिरेले बताए। ‘लाखौंको संख्यामा भित्रिएको सलहले गाउनै छोपेको छ,’ उनले भने ‘भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पुगेको छ ।’

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन,थाल ठटाउनुका साथै  ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको घिमिरेले बताए। बिहीबार विहानै खेतबारीमा देखिएको सलह शनिवार (आज) बिहानसम्म पनि खेतवारीमा नै रहेको छ।  सहलले सबैभन्दा बढी मकै बालीमा क्षति पुर्‍याएको छ। सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ। बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्रले सहल प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ।

दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिंगा, भकुण्डे लगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो। पहिरो र कोरोनाको कहरका बिचमा भित्रिएको सलहले बालि नष्ट गरेपछि कृषक निराश भएका छन्।

सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन। म्याग्दीका विभिन्न ठाउँहरुमा अझै पनि सलहको झुण्डले धान र मकै मात्रै होइन फलफल र तरकारीमा पनि ठूलो क्षति पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.