नेताहरु भन्छन्ः एकताको पक्षमा छौँ, पार्टी फुट्दैन

|

काठमाडौँः सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता फेरि रोकिएको छ। साउन १४ गते बोलाइएको स्थायी कमिटी बैठक केपी शर्मा ओलीले एकपक्षीय निर्णयबाट स्थगित गरिदिएपछि चिसिएको दुई नेताबीच पार्टी वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गराइदिएपनि फेरि सम्वादहीनता देखिएको हो। 

प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच तत्काललाई भेटवार्ताको मिति या समय तय भएको छैन। थापाले भने, ‘प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बुधबारको वार्ता स्थगित भएपछि अहिलेसम्म भेटवार्ताका लागि कुनै समय तोकिएको छैन।’

ओली र दाहालबीच गत आइतबारदेखि मंगलबारसम्म निरन्तर छलफल भएको थियो। तर, सहमति जुट्न सकेको थिएन। वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र दाहालसँगै वरिष्ठ नेता झलनाथ खनालसमेत सहभागी थिए। 

आइतबारको बैठकमा दुवै अध्यक्षले आ-आफ्नै अडानमा यथावत् रहेपनि बैठक पुनः सुरुवात भएको बताएका थिए। सोमबार केही समयमात्रै छलफल भएपनि कुनै सहमति जुट्न सकेको थिए। तर, मंगलबारको वार्तामा कुरा अन्यन्त्रै मोडिएको थियो। 

प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाहबिना एकलौटी रुपमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा विवादित पृष्ठभूमिका सुशील भट्टलाई नियुक्त गरेपछि बैठकको सुरुमै दुई जनाबीच चर्काचर्की परेका थियो।

वार्तामा सहभागी भएका अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालले पनि चर्को विरोध गरेपछि बैठक रस्साकस्सीपूर्ण बनेको थियो। पछिल्लो विवादसँगै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो अडान कायमै राखेका थिए। सहमति नहुने संकेत देखिएपछि वार्ता टुङ्गिएको थियो।

प्रधानमन्त्री ओली सचिवालयमार्फत वार्ता गरेर महाधिवेशनबाट छिनोफानो गरेर अघि बढ्ने अडानमा छन्। तर, अध्यक्ष दाहाल पक्ष असार १० गतेबाट जारी स्थायी कमिटीको बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छ। 

‘पार्टीभित्रको विवाद स्थायी कमिटीको बैठकमा छलफल गर्नुपर्छ। त्यहाँ पनि सहमति हुन नसके केन्द्रीय कमिटीमा लैजान सकिन्छ। तर, सचिवालयमा खुम्चाउन सकिदैन’ वरिष्ठ नेता माधवकुमार नेपालनिकट एक नेताले भने, ‘पार्टीभित्रको विवादमा सहमतिको प्रयास पनि नगर्ने बैठकमा सहभागी पनि नहुने, एकलौटी पार्टी चलाउन खोज्ने! अनि कसरी चल्छ पार्टी ?’

थपियो विवाद

बुधबार अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू निकटका सञ्चारकर्मीलाई बोलाएर पार्टीभित्रको विवादको बारेमा जानकारी गराएका थिए।

पार्टीभित्रको विवाद पद र प्राप्तीको लागि नभएर विधि र पद्धतिको लागि भएको नेताहरूले दावी गरेका थिए। त्यही दिनबाट अध्यक्षद्धयबीच पुन: दुरी बढेको नेताहरूले बताएका छन्।  चार नेताको बैठकले पार्टी विधि र पद्धतिमा नचलेको र प्रधानमन्त्री ओलीले एकलौटी रुपमा पार्टी सञ्चार गर्न खोजेको आरोप लगाएका थिए। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा अध्यक्ष प्रचण्डसहितका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएका थिए। चार नेतालाई 'ग्याङ अफ फोर'को संज्ञा दिँदै थापाले पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको दावी गरेका थिए।

अहिले नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको थापाले आरोप लगाएका छन्‌। १० वर्षअघि तत्कालीन अध्यक्ष प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्दा माओवादी विभाजन भएको प्रसंग उल्लेख गर्दै थापाले अहिले धोबीघाट गठबन्धनकै रिहर्सल भइरहेको टिप्पणी गरेका थिए। 

'सहमति खोज्नुपर्छ'

पार्टीभित्रका विवादलाई लिएर अध्यक्षद्धयबाट सहमति खोज्नुपर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्।

‘अहिले पार्टीभित्रको संकट सामान्य अवस्थामा छैन। तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति हुनुको विकल्प छैन,’ उनले भने, ‘पार्टीभित्रको विवादमा उहाँबीच छलफल र परामर्शबाट सहमति जुटाउनुपर्छ भन्ने हामीले चाहेका छौँ।’

‘त्यही भएर गत मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने जिम्मेवारी दिएका हौँ,’ उनले भने।

'पार्टी फुट्दैन'

अहिले चलिरहेको बहसले पार्टी नफुट्ने नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ बताउँछन्। ‘पार्टीभित्रको विवादको बिषयमा छलफल बहस भइरहेको छ। तर, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो’ सिन्धुपाल्चोकमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने।

‘कम्युनिष्ट पार्टीको एकता भंग गराउन अन्य षड्यन्त्र भइरहेको छ। त्यो सफल हुँदैन’ तामाङले भने, ‘पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.